महासमितिका निर्णय कार्यान्वयनमा आलटाल : कृष्ण प्रसाद सापकोटा

रिपोर्ट नेपाल | 2024 May 08 | 04:46 pm 1497

 

 

महासमिति बैठकबाट पार्टीको भावी कार्यदिशाका लागि नयाँ नीति बन्ने भएकाले र पार्टीको राजनीतिक, सामाजिक र आर्थिक मार्गलाई स्पष्ट गर्ने र त्यसै अनुरूप पार्टी संचालन वा अघि बढ्ने हुदा महासमिति बैठक महत्वपुर्ण हुन्छ ।

 

महासमिति बैठकले कांग्रेसको नीति पारित गर्ने भएकाले यसलाई ‘नीति महाधिवेशन’कै अर्को रूप मानिन्छ । कांग्रेसले आगामी दिनका लागि लिने कार्य दिशाबारे देशैभरिबाट आएका प्रतिनिधिबीच बृहत् छलफल गरि नीति पाश गर्ने भएकाले नीति महाधिवेशन भनिएको हो ।

 

तर महासमितिको बैठक लगत्तै नेपाली कांग्रेसले गतिलिनेछ भन्ने जुन अनुमान आम नेपाली कांग्रेसका कार्यकर्ता र जनमानसमा थियो त्यो अनुमान यतिबेला गलत सावित भएको छ । महासमिति बैठकका निर्णय कार्यन्वयन प्रक्रिया सुरु हुनेछ भन्ने आशा कार्यकर्ता तथा शुभचिन्तकहरुले राखेका थिए । तर केन्द्रीय समितिको बैठक नै आजका दिनसम्म बस्न सकेको छैन।

 

महासमितिको बैठक पछि तत्कालै केन्द्रीय समितिको बैठक बोलाएर निर्णय कार्यन्वयन प्रक्रिया किन सुरु गरिएन ? महासमितिको बैठक पछि नेपाली कांग्रेसले के के काम गर्यो भन्ने प्रश्नहरु स्वतः उत्पन्न हुन्छन् ।

 

महासमिति बैठकका सुझावका आधारमा केन्द्रीय समितिबाट निर्णय हुनेछ, महासमितिको निर्णयलाइ पारित गर्न केन्द्रिय समितिले पहल गर्नेछ भन्ने आम कार्यकर्तामा थियो तर आजका दिन सम्म केन्द्रिय समितिको बैठक सम्म बस्न सकेको छैन।

 

महासमितिले पारित गरेका निर्णयहरु पारित गर्ने गरी केन्द्रीय समितिको बैठक सभापति देउवाले स्वेच्छाले बोलाउलान भन्ने देखिन्न । संस्थापन इतर पक्षले दबाव नदिए सम्म बैठक बोलाउन सभापति देउवा तयार हुन्नन भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ ।

 

महासमितिको बैठक पछि पनि कांग्रेस एक ढिक्का हुन नसकेको सन्देश गएको मात्रै छैन उपचुनाबमा भएको टिकट बितरणले सभापति देउवाको कार्यशैली झन् संकीर्ण बन्दै गएको आशंका कार्यकर्तामा उत्पन्न भएको छ ।

 

नेपाली कांग्रेसको विधानमै वर्षको चार पटक केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने प्रावधान छ । देउवा सभापति बनेको दुइ वर्ष पुरा भई तिन बर्षमा लागेको छ । यो अवधिमा कम्तिमा ९ ,१० पटक केन्द्रीय समितिको बैठक बसिसक्नु पर्ने थियो तर त्यो अनुसार हुन सकेको छैन। त्यसमा पनि निकै ठूलो दबाव सिर्जना भएपछि मात्रै देउवाले केन्द्रीय समितिको बैठक बोलाएको पाइन्छ ।

 

बैशाख १५ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधि सभाको चुनाबमा नेपाली कांग्रेसले हार बेहाेर्नुपर्याे । यो हारको समीक्षाका लागि तत्काल केन्द्रीय समितिको बैठक बस्नु पर्ने थियो । एकातिर केन्द्रीय समितिको बैठक नबसेको पनि धेरै महीना बितिसकेको छ , अर्कातिर चुनावमा भएको पराजयको समीक्षा गर्न जरुरी छ । तर आजका दिनसम्म पनि केन्द्रीय समितिको बैठक बस्ने सुरसार छैन ।

 

नेपाली कांग्रेस आज मुलुकको राष्ट्रिय राजनीतिमा जुन हालतमा गुज्रिरहेको छ त्यसमा धेरै जसो कमजोरी नेतृत्वकै हो भन्ने टिकाटिप्पणी सुरु भएको छ । नेतृत्वले यो कार्यशैली सुधार नगर्ने हो भने आगामी निर्वाचनमा पनि नेपाली कांग्रेसको हालतमा खासै ठूलो सुधार हुने लक्षण देखिँदैनन् ।

 

तर नेतृत्वको कार्यशैलीमा सुधार हुने संकेत छैन । ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै’ भन्ने उखान नेतृत्वको कार्यशैलीले चरितार्थ गरेको कांग्रेसका कार्यकर्ताहरु बताउँछन् । महासमितिको बैठकद्धारा संसोधन गरिएको विधानका अधिकांश प्रावधानहरु आगामी महाधिबेशनको तयारीका क्रममा क्रियाशील हुन्छन् तर केही प्रावधानहरु भने तत्काल क्रियाशील गराउनु पर्ने अवस्था छ ।

 

महासमिति बैठकले पारित गरेको व्यवस्था कार्यन्वनका लागि पहिलो खुड्किलो भनेकै केन्द्रीय समितिको बैठक हो । केन्द्रीय समितिको बैठक नबसी विधानको प्रावधान कार्यान्वयनका लागि बाटो खुल्ने अवस्था छैन । तर सभापति देउवाले केन्द्रीय समितिको बैठक नै ढिलो बोलाउँदा सबै काम थाति रहेका छन् ।

 

लेखक गुल्मी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि हुन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.