महासमितिकाबीच कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

रिपोर्ट नेपाल | 2018 Dec 17 | 10:31 am 1845

काठमाडौं, पुस २ : महासमिति बैठक चलिरहेका समय नेपाली कांग्रेसले पार्टीको विधानमा रहेका विमति टुङ्ग्याउने पहल स्वरुप केन्द्रीय समिति बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले केहीबेरमा बस्ने केन्द्रीय समिति बैठकमा विधानका मिलाउन बाँकी विषयमा छलफल हुने नेता रामकृष्ण यादवले जानकारी दिए।

संस्थापन र इतर पक्षबीच हिजो दिनभर भएको छलफलमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष राख्ने सहमति भएको थियो । यद्यपि पदाधीकारी चयन प्रक्रियामा भने सहमति हुन बाँकी छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संविधानको व्यवस्था अनुसार नै सबै पदाधिकारी निर्वाचनबाटै आउनुपर्ने अडान लिएको छ भने संस्थापन पक्ष कोषाध्यक्षसहित एक एक जना उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिबाट मनोनयन गर्नुपर्ने अडानमा छ ।

दुबै पक्षको अडानका कारण महासमिति बैठक सुरु भएको दुई दिन वितिसक्दा पनि विधान मस्यौदा महासमितिमा पेस हुन सकेको छैन । सहमहामन्त्री प्रकाशशरण महतले विधानको मस्यौदामा उल्लेख बुँदामा लगभग सहमति जुटिसकेको जानकारी दिदै आजको पहिलो बसाईंले नै मस्यौदा अनुमोदन गर्ने दावी गरे। उनकाअनुसार, विधान मस्यौदा आजैको महासमिति बैठकमा प्रस्तुत हुनेछ।

यसैबीच महासमिति बैठकमा आज पनि राजनीतिक, सांगठनिक, आर्थिक र लेखा परिक्षण प्रतिवेदनमाथी छलफल हुने कांग्रेसले जनाएको छ। राजधानीको यगम्बर प्यालेसमा केहीबेरमा सुरु हुने वन्दसत्रको दोस्रो दिन सदस्यले धारणा राख्ने क्रम जारी हुने नेता यादवले जानकारी दिए।

बन्द सत्रको पहिलो दिन धारणा राख्दै अधिकांश प्रतिनिधिले पार्टीको निति भन्दा नेतृत्वको कार्यशैली परिवर्तनमा जोड दिएका थिए । कार्यशैली, व्यवहार र चरित्र कै कारण पार्टी खुम्चिदै गएको ठहर गरेका उनीहरुले नेतृत्वप्रति प्रश्न उठाएका हुन् । केन्द्रीय समितिले अनुमोदन गरे विधानको मस्यौदा आजै महासमिति बैठकमा पेस हुने नेता यादवले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.