महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिर झकिझकाउ

| 2024 Mar 07 | 09:17 pm 617

काठमाडौँ २४ फागुन / हिन्दू धर्मावलम्बीहरुले प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरलाई झकिझकाउ सिंगारिएको छ । पशुपति विकास कोषले हरेक वर्ष झैँ यस वर्ष पनि शिवरात्रिका लागि पशुपति परिसरमा सरसफाइदेखि सजावट र सुरक्षा व्यवस्थापन बलियो बनाएको छ ।

महाशिवरात्रिको अघिल्लो दिन आजै बेलुकादेखि पशुपतिमा भक्तजनहरुको भीड लागेको छ । भारतबाट हजारौंको संख्यामा नागा बाबाहरु पनि पशुपतिमा दर्शनका लागि आइसकेका छन् ।

 

 

 

हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

 

 

 

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

 

 

 

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.