महानिरीक्षक खनालबाट नम्बर १३ गण पर्साको उद्घाटन

| 2021 Feb 24 | 08:19 am 2253

काठमाडौँ फागुन १२: सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको उद्घाटन गरेका छन । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको समेत उद्घाटन गरेका छन । पर्सा जिल्लाको सीमावर्ती ईलाकामा अवस्थित अन्य सशस्त्र प्रहरी बल, नेपालका बोर्डर आउट पोष्ट तथा सुरक्षा वेश र पकाह मैनापुरमा निर्माणधिन अवस्थामा रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भवनको समेत महानिरीक्षक खनालले निरीक्षण गरेका छन ।

राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा अहोरात्र परिचालित भई सीमा सुरक्षा, नागरिकको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा खटिएर व्यावसायिक कार्यसम्पादन गरिरहेको कुरा महानिरीक्षक खनालले बताएका थिए । सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप, चोरीतस्करी नियन्त्रण तथा सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपालको अहम भूमिका रहने चर्चा गर्दै कार्यक्षेत्रमा खटिदा अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्दै अनुशासित एवं इमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा क्रियासिल रहन समेत खनालले निर्देशन दिएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतम, पर्सा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.