महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

रिपोर्ट नेपाल | 2022 Jun 28 | 08:04 am 1617

काठमाडौं, असार १४ः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् । डेढ साताअघि हेटौंडामा आयोजित दुईदिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए । आफूलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर दोस्रो दिनको कार्यक्रममा सहभागी भएनन् ।

महानगरबासी र जनप्रतिनिधिमाथि अपमान भएको महसुस गरेका मेयर साहले महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्न गोप्य योजना बनाएका छन् । केही दिनदेखि मेयर साह र उपमेयर डंगोल महानगरको फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलसहितको टिम बसेर योजना तयार गरिरहेका छन् ।

‘मेयर साहले अर्को व्यवस्था नहुन्जेलसम्म बन्चरेमा लैजाने र कामपा आफैंले व्यवस्था गरेपछि महानगर वा छिमेकी स्थानीय तहको सहयोगमा फोहोरमैला व्यवस्था गर्ने तयारी गरिरहेका छन्’ –कामपा स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । राजधानीको फोहोर व्यवस्थापन गर्ने विभिन्न उपाय अवलम्बन गर्न उनी भक्तपुर र मध्यपुर नगरपालिकाको योजना हेर्न पुगेका छन् ।

हिजो सोमबार मेयर साह, उपमेयर डंगोल, संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नम्बर ३ का अध्यक्ष प्रेम थापा, ६ का अध्यक्ष भुवन लामा, १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल, २९ का वडा अध्यक्ष कुश ढकाल र प्रमुख प्रशासकीय अधिकृत पौडेलसहितको टोली मनोहरा र हनुमन्ते नजिक पुगेको थियो ।टोलीले सो नगरपालिकाले गरेको फोहोर व्यवस्थापनको अवस्था सिकेर राजधानीमा लागु गर्ने योजना बनाएका छन् । फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष महर्जनले अब काठमाडौंलाई सफल गर्ने अभियानको शुरूवात गर्न लागेको बताए ।

उनले भने– ‘अहिले हामी यसरी सफा गर्छाैंभन्दैनौं सबै विषयमा कुराकानी मिलेपछि बल्ल जानकारी दिनेछौं ।’ उनले अघिल्ला जनप्रतिनिधिले राजधानी सफा गर्न नसकेको बताए । टोलीले फोहोर व्यवस्थापन गर्न मेसिन खरिद गर्ने वा कुनै स्थान पहिचान गरी सो क्षेत्रमा जैविक मल कारखाना राख्ने कि फोहोरबाट अन्य कुनै सामग्री तयार गर्न सकिन्छ कि भनेर अनुसन्धान गरिरहेको छ ।

‘आफूमाथि अनाहकमा आरोप लगाएको भन्दै मुख्यमन्त्री र मन्त्रीसँग इगो बोकिरहेका मेयर साहले राजधानीको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन गर्न चाहनुभएको छैन । त्यसका लागि समितिका संयोजक एवं सदस्य सहमत भइसकेका छन् । वैज्ञानिक रूपमा व्यवस्थापन गर्न र स्थान खोज्न सबै लागिपरेका छन्’ – स्रोतले भन्यो । नेपाल समाचारपत्रबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.