काठमाडौं, असाेज २०ः काठमाडौं महानगरपालिकाले राजधानीलाई कोरोना जोखिमबाट बचाउन सामुदायिक विद्यालयका शिक्षक परिचालन गर्ने भएको छ । महानगरले सबै वडामा कन्ट्रयाक्ट ट्रेसिङ गर्न र होम आइसोलेसनमा बसेकालाई परामर्श दिन शिक्षक परिचालन गर्न लागेको हो ।
कामपा स्रोतका अनुसार छनोटमा परेका शिक्षकलाई शहरी जनस्वास्थ्य विभागले ओरेन्टेसनमा सहभागी गराएर परिचालन गर्ने तयारी भइरहेको छ । राजधानीमा संक्रमितको संख्या दैनिक हजारभन्दा बढी हुन थालेपछि कामपाले नयाँ योजनासहित शिक्षक परिचालन गर्न लागेको हो ।
छनोटमा परेका शिक्षकले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने, आयुर्वेदिक र अन्य औषधी सेवनको तरिकाबारे जानकारी गराउनेलगायतका क्रियाकलापबारे जानकारी दिनेछन् । कामपा शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले पहिलो चरणमा प्रत्येक वडामा २ जना शिक्षक परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनले भने– हामीले वडागतरूपमा विद्यालयको नाम उपलब्ध गराएका छौं, वडा कार्यालयले सल्लाह गरेर शिक्षक छनोट गरी कार्यक्षेत्रमा पठाउनेछ । वडा कार्यालयले आफ्नो वडामा पर्ने विद्यालयका शिक्षक छनोट गरी आफ्नै वडामा परिचालन गर्ने उनको भनाइ छ ।
सरकारले वैकल्पिक पढाइ शुरू गरिरहेको अवस्थामा शिक्षकलाई परामर्शमा खटाउँदा पढाइमा असर पर्दैन त भन्ने प्रश्नमा निमित्त प्रमुख खरेलको भने– समय व्यवस्थापन गरी परिचालन गर्दा कुनै समस्या पर्दैन । त्यस विषयमा जनस्वास्थ्य विभागले समय व्यवस्थापन गरिरहेको छ ।
शिक्षकसँगै प्रत्येक वडामा २ जना स्वास्थ्यकर्मीसमेत परिचालन गर्ने तयारी गरेको छ । महानगरको कार्यपालिका बैठकले निर्णय गरेसँगै शिक्षक र स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।
कामपाले हाल सयको संख्यामा रहेका स्वाथ्यकर्मीको संख्या वृद्धि गरी करिब १ सय ५० बनाउन तयारी गरेको छ । कामपा कोभिड सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले हाल भएको स्वाथ्यकर्मीको संख्या वृद्धि गरी प्रत्येक वडामा दुई–दुई जना स्वाथ्यकर्मी परिचालन गर्ने जानकारी दिए । नेपाल समाचारपत्रबाट