काठमाडौं, मंसिर २१ । धन कमाउने सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १ सय ३६ जना नेपाली सामान्य विवाददेखि लागूपदार्थ कारोबार एवं प्रयोग अभियोग, बलात्कार, झैझगडा, इमिग्रेसन कानुन उल्लंघन र व्यक्ति हत्यासम्मका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा जेलको चिसो छिँडीमा पुगेका छन् । जेल परेकामध्ये ५० प्रतिशत लागूपदार्थ कारोबार एवं प्रयोग अभियोग थुनामा रहेका छन् । ति मध्ये तीन जनालाई त्यहाँको फेडेरल कोर्टबाट मृत्युदण्डको सजाय फाइनल भएर आएको नेपाली दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी प्रेमबहादुर बुढथापाले जानकारी दिए ।
‘मलेसियामा चार तहको अदालत हुन्छ तीन नेपालीलाई फेडेरल कोर्टबाट मृत्युदण्डको फाइनल भएर आएको छ,’ सूचना अधिकारी बुढथापाले भने, ‘दूतावासले वकिल हायर गरेर पुनरावेदन गर्ने तयारी गरिरहेको छ, मलेसियाको संसदले अनिवार्य मृत्युदण्डको सजाय हटाउने पास गरिसकेको छ, कानुन कार्यान्वयन हुन बाँकी नै छ, ती तीन नेपालीको हकमा पनि मृत्युदण्ड कार्यान्वयन नहोला तर, आजीवन जेल भने बस्नुपर्छ ।’
गैरकानुनी रूपमा बसेकालाई बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो) ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने मलेसियाको कानुन भएकाले “गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न” दूतावासले अनुरोध गरेको छ ।