मर्निङ वाक् हिंडेका महिलाको गरगहना लुट्ने लुटेरा पक्राउ

| 2023 Jul 09 | 04:05 pm 3621

काठमाडौं, असार २४ । मुलुकमा आर्थिकमन्दि सँगै चोरीका घटना ह्वात्तै बढेका छन् । पछिल्लो समय मर्निङ वाकमा हिंडेका महिलाको सुनको सिक्री शृंखलाबद्ध रुपमा लुटपाट गर्ने समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा रविन दमाइ, रविन विक, राहुल माझी र उमेश क्षेत्री रहेका छन् । उनीहरुको समूहले १ देखि २० असारसम्म काठमाडौंका विभिन्न स्थानमा ८ जनाको सिक्री लुटेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार पहिलो घटना असार १ गते बिहान कपुरधारामा भएको थियो । मर्निङ वाक् हिंडिरहेकी रमा पाण्डेले घाँटीमा लगाएको गहना २ जनाले लुटपाट गरेका थिए । अँध्यारो नै भएको बेलामा सीसीटीभी फुटेज हेर्दा २ जना आएको देखिन्थ्यो, तर पहिचान हुने अवस्था थिएन ।

त्यही दिन टोखाको ग्राण्डी अस्पताल नजिक लुटपाट भयो । लुटपाटको शैली कपुरधाराकै जस्तो थियो भने सीसीटीभी फुटेजमा केटीएम ड्युक मोटरसाइकल र लुटपाटमा संलग्न व्यक्तिको थोरै हुलिया मात्र देखिएको प्रहरीले जनाएको छ ।

३ गते बिहान नागार्जुन बुद्धचोक क्षेत्रमा दुई जनाको समूहले ५५ वर्षीया रेखा घिमिरेको घाँटीमा लगाएको गहना लुटपाट गर्यो । लुटपाट गर्नेहरु मोटरसाइकलमा आएका थिए । घटना लगत्तै प्रहरीले तत्काल हेरेको सीसीटीभी फुटेजमा लुटपाटमा संलग्न भएको व्यक्ति अघिल्ला घटनामा जस्तै हुडी लगाएका थिए ।

१३ गते पनि टोखामै मोटरसाइकलमा आएका दुई जनाको समूहले मंगली माया डंगोलले घाँटीमा लगाएको गहना लुटेर भागेको थियो । यसमा पनि केटीएम ड्युक बाइक प्रयोग भएको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

यसैगरी १९ गते टोखामै मर्निङ वाकमा निस्किएकी ३४ वर्षीया गंगा राना मगर लुटपाटमा परिन् । उनले घाँटीमा लगाएको सुनको सिक्री चोरिएको कार्यालयका प्रमुख डा. मनोज केसीले बताए । एउटै ग्रुप वा पछाडिको मान्छे एउटै हुनसक्छ भन्ने अनुमानमा त्यहीअनुसार प्रहरी खटाइएको पनि डा. केसीले बताए ।

चक्रपथको बगलामुखी क्षेत्रमा ६० वर्षीया कान्छी श्रेष्ठले लगाएको गहना र २० गते टोखा ३ को शेर्पा पेट्रोल पम्प नजिक रिता श्रेष्ठ समेत लुटपाटमा परेकी थिइन । सातौं घटनासम्म आइपुग्दा प्रहरीले एउटै व्यक्तिले एउटै शैली र एउटै उद्देश्यले लुटपाट गरिरहेको पत्ता त लगायो, तर अभियुक्तसम्म पुगेको थिएन ।

त्यहीदिन चागलमा अर्को लुटपाट भयो । बिहान तीन जनाको समूहमा मर्निङवाकमा हिंडिरहेकी सरस्वती डंगोलको सिक्री लुटपाट भयो । बिहान निकै उज्यालो भइसकेको समयमा भएको यो घटनामा भने प्रहरीले अभियुक्तसम्म पुग्नसक्ने गरी सीसीटीभी फुटेज भेट्टायो । सीसीटीभी फुटेज क्लियर भएपछि अनुसन्धानमा लिड दिने अवस्था बनेको पनि डा. केसीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.