मन्‍त्री मगरको मेलम्ची खानेपानी सपना दशैंसम्म पुरा नहुने

रिपोर्ट नेपाल | 2018 Jun 02 | 12:39 pm 3361

काठमाडौं, जेठ १९: वाम गठबन्धन सरकारमा खानेपानी मन्‍त्रीको सपथ खाएलग्‍त्तै मेलम्ची पुगेर सुरुङमार्गको उद्‍घाटन गर्दै मन्त्री विना मगरले काठमाडौंबासीलार्इ दशैंअघि खानेपानी घरघरमा पुर्‍याइदिने वचन दिइन् । तर, उनको त्यो सपना पुरा करिब निश्चित जस्तै भएको छ ।

इटालियन निर्माता कम्पनी सिएमसी दि रेभेनाले आयोजनाको काममा विभिन्‍न बाहाना गरेर ढिलासुस्ती गरेपछि मन्त्री मगरले शुक्रबार पत्रकार सम्‍मेलन गरी काममा लापरवाही गरे कारबाही गर्ने सम्मको चेतावनी दिइन्। खानेपानी सचिव कृष्णरान बिसीले नेपालस्थित कम्पनीका प्रतिनिधीले आयोजना निर्माणको काम समयमै सक्ने भनेर प्रतिबद्धता जनाउने तर निर्धारित समयमा काम नगर्ने समस्या आएको बताए ।

उनले आयोजनास्थलमा प्रतिबद्धता अनुसार काम नभएको भन्दै सिएमसी दि रेभेनाको इटलीस्थित मुख्य कार्यालयलाई पत्र लेखेर उच्च प्रतिनिधीलाई नेपाल बोलाएर गम्भिर ढंगले छलफल गर्ने योजना बनाएको बताए ।

‘उक्त छलफलबाट समेत ठेकेदार पक्ष गम्भिर नभई काम अघि नबढाए सम्झौता उल्लंघन गरेको मानेर जुनसुकै प्रकारको कदम चाल्ने’ मन्त्रालयको योजना रहेको सचिव बिसीले सुनाए । ठेकेदार कम्पनीसँग गम्भिर ढंगले छलफल गरेर काम अघि बढाई आगामी दशैंसम्म काठमाडौंमा पानी झार्ने मन्त्रालयले उद्देश्य लिएको छ तर ठेकेदार कम्पनीले काममा आलटाल गरे सो कम्पनीसँग ठेक्का रद्द गर्ने सरकारको तयारी छ । कम्पनीले प्रतिबद्धता जनाउने तर काम नगर्ने प्रवृतिबाट मन्त्रालय आश्चर्यमा परेको सचिव बिसिले बताए ।

सन् २००८ मा नेपाल सरकारबाट दातृ निकाय एसियाली विकास बैंकको सर्तअनुसार सुरुङ निर्माण कार्यको खरिद प्रक्रियाको सहमति भई आयोजनाको मुख्य काम सुरुङ निर्माणको काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी सीआरसीसीले आयोजनाको ठेक्का पाएर सन् २०१० जुनदेखि काम सुरु गरे पनि सम्झौता अनुसार काम नगरी ३ वर्षमा जम्मा साढे ६ किलोमिटर मात्र सुरुङ खनेकाले सेप्टेम्बर २०१२ मा सो कम्पनीसँग ठेक्का रद्द गरिएको थियो ।

सुरुङको बाँकी निर्माणका लागि सन् २०१३ जुलाईमा इटलीको निर्माण कम्पनी सीएमसी दि रेभेन्नासँग सम्झौता भएको थियो । सो कम्पनीले सन् २०१४ बाट निर्माण कार्य सुरु गरेको थियो । भूकम्प र नाकाबन्दीका कारण सुरुङमार्ग निर्माणमा अवरोध आएको थियो ।

सो कम्पनीले गएको चैत २७ गते सिन्धु ग्याल्थुम खण्डको ७ दशमलव ५ किलोमिटरको ब्रेक थ्रु गरेको थियो । जसको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगरलगायतले गरेका थिए । सुरुङमार्ग खन्ने काम भइसकेपछि गएको वैशाख १३ गते निर्धारित मितिमा काम सम्पन्न गर्नका लागि एसियाली विकास बैंक, मेलम्ची आयोजना विकास समिति, ठेकेदार तथा इन्जिनियर परामर्शदाता कम्पनी मिलेर योजना निर्माण गरिएको थियो ।

निर्माता कम्पनी सिएमसीले १ महिनामा ६ किलोमिटर टनेल फिनिसिङ गर्ने प्रतिबद्धता जनाएपनि जम्मा १ किलोमिटर मात्र फिनिसिङ गरेको थियो ।

सचिव विसीका अनुसार ठेकेदार कम्पनीले आन्तरिक विवाद देखाई कम्पनीको उच्च व्यवस्थापकबाट सहयोग नभएको र केन्द्रीय कार्यालयबाट रकम नआएको भन्दै बाहाना देखाएको थियो ।

यसैबिच निर्माता कम्पनी सीएमसी दि रेभेनाले मेलम्ची खानेपानी आयोजनासँग १ अर्ब ६५ करोड रुपैयाँ अतिरिक्त रकम मागेको छ । यो बिषय समाधान समिति ‘डिस्पुट बोर्ड’ मा समेत राखिएको छ ।

काम गर्ने समय ५ सय ७० दिन थोरै भएको, भूकम्प र नाकाबन्दीको कारण लागत बढी परेको र मेसिनरी सामानहरु थप गर्नुपर्ने भएकाले अतिरिक्त १ अर्ब ६५ करोड रकम माग गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.