मन्दिरमा अज्ञात समूहद्वारा तोडफोड

| 2020 Nov 06 | 09:37 am 1952

दाङ, कात्तिक २१ः गएराति तुलसीपुरमा रहेकाे त्रिशिद्धेश्वरी मन्दिर तोडफोड भएको छ । अज्ञात समूहले मन्दिरमा तोडफोड गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज धितालले जानकारी दिए ।

मन्दिरको अगाडिको भागमा रहेका दुईवटा सिंहका मूर्तिमध्ये एक वटामा तोडफोड गरिएको छ । सिंहको पुच्छरमा क्षति पुर्याएको उक्त समूहले मूल गेटमा लगाइएका ताल्चा फोडेरै मन्दिरमा प्रवेश गरेको आंशका गरिएको छ ।

त्यस्तै मन्दिरभित्र प्रवेश गरी ३ वटा दानपेटिका पनि तोडफोड गरी दर्शनार्थीहरुले चढाएको रकम समेत चोरी गरेको छ । बाहिर शनिको मूर्तिसँगै रहेको अर्को दान पेटिकाको दान रकम समेत चोरी गरेको छ । नियमित रुपमा मन्दिरको मूल गेट खोल्ने क्रममा ताल्चा फोडेको अवस्था देखा परेपछि मन्दिरमा तोडफोड र चोरी भएको थाहा भएको सहसचिव निर्मल नेपालीले जानकारी दिए ।

मन्दिरमा तोडफोड गर्ने समूहले धार्मिक सदभाव खल्बलाउने र अराजकता बढाउने उद्देश्य राखेको हुन सक्ने आशंका गरिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्ला दिनमा दाङको तुलसीपुर क्षेत्रमा चोरीका घटना व्यापक रुपमा बढेका छन् । केही दिनअघि मात्र एकै रातमा झण्डै ६ वटा चोरीसमेत भएका छन् ।

बिहानीपख हिँड्दै गरेका अर्का एक युवकको मोबाइल लुटपाट घटना नारायणपुरमा समेत भएको स्थानीयले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.