काठमाडौँ, माघ २७। बुढानिलकण्ठ नगरपालिका-८ स्थित सडकबाट मनोद्धिपक लागू पदार्थ एम्फेटामाईन ९७ ट्याब्लेटसहित बंगलादेशी नागरिक ३५ वर्षीय मोहमद मामुन खानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा बंगलादेशी नागरिक २७ वर्षीय मोहमद जोनी खानलाई बुढानिलकण्ठ नगरपालिका-७ स्थित डेरा कोठामा फेला पारी तलासी गर्दा कोठाबाट एम्फेटामाईन १ सय ३ ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ खड्का गाउँस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम, बुप्रेनोर्फिन र प्रोमेथाजाइन ६ सय एम्पुलसहित लम्जुङ बेसीशहर नगरपालिका-३ ठेगाना भएका ४३ वर्षीय बिक्रम बहादुर थापा र धादिङ सिद्धलेक गाउँपालिका-२ ठेगाना भएका ३९ वर्षीय पित नारायण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले बा.६ च ३८३ नम्बरको कार तलासी गर्दा कारभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै पित नारायणको काठमाडौं चन्द्रागिरी नगरपालिका-५ स्थित डेराबाट थप ६ हजार एम्पुल नियन्त्रित लागूऔषध बरामद भएको छ ।