मनाङ पुग्‍ने एकमात्र सडक पहिरोले अवरुद्ध

रिपोर्ट नेपाल | 2018 Jun 28 | 12:50 pm 3595

लमजुङ, असार १४: पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । उक्त सडक हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र सडक हो । बुधबार राति सडकका ठाउँठाउँमा पहिरो गएपछि बिहीबार बिहानैदेखि उक्त ठाउँमा सवारी आवागमन ठप्प भएको स्थानीयले बताएका छन् ।

लमजुङ खण्डमा पर्ने विभिन्न ३ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । मर्स्याङ्दी गाउँपालिका-३ अर्खलेबेंसी, ४ को काप्रेभीर र मनाङ सिमाना नजिकै च्याम्चे क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध बनेको पहिरो गएको ठाउँ पुगेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

पहिरो खुलाउन प्रजिअ ढकाल, डीएसपी यादव ढकालसहितको टोली पुगेको र खुलाउने प्रयास भइरहेको उनीहरुले बताएका छन् । उक्त क्षेत्रमा निर्माणधिन जलविद्युत आयोजना, प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने काम थालिएको प्रजिअ ढकालले बताए ।

मर्स्याङ्दीगाउँपालिका ४ का वडा अध्यक्ष सुमन गुरुङले सडकमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको र खुलाउनेकार्यमा लागेको बताए । पहिरोका कारण पैदलयात्रीलाई वारपार गर्न समस्या परेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.