काठमाडौं, साउन १९ः मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
यो अवधिमा चार जना बेपत्ता तथा २ सय १५ घाइते भएको र ८ सय ७० परिवार प्रभावित भएका छन् । यसवर्ष मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ । दुई महिने अवधिमा १ सय ५७ घर पूर्ण रूपमा क्षति हुँदा २ सय ४७ घर आंशिक प्रभावित बन्न पुगेको छ । यो अवधिमा सबैभन्दा बढी ३८ घटना झापा र त्यसपछि २८ घटना सुनसरीमा भएको छ ।
कैलाली, अछाम, म्याग्दीमा सबैभन्दा बढी मृत्यु भएको छ । ती जिल्लामा यो अवधिमा पाँच-पाँच जनाको ज्यान गइसकेको छ । त्यस्तै, कञ्चनपुर, तनहुँ, धादिङ र बाग्लुङमा चार-चार जनाको ज्यान गएको तथ्यांक छ ।
यसैगरी, यही अवधिमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, गोरखा, प्युठान, कपिलवस्तु र दाङमा तीन-तीन जनाको ज्यान गइसकेको छ । यसै अवधिमा घटेका विपद्जन्य घटनाबाट सप्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, रोल्पा, गुल्मी, बर्दिया र सल्यानमा दुई-दुई जनाको मृत्य भएको छ ।
३३ करोड ११ लाखबराबरको आर्थिक क्षति
यसैगरी, इलाम, खोटाङ, सोलुखुम्बु, झापा, मोरङ, सुनसरी, सिराहा, सर्लाही, रौतहट, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपल्चोक, नुवाकोट, कास्की, स्याङ्जा, नवलपुर पूर्व, नवलपरासी, रूपन्देही, बाँके, डोल्पा, जुम्ला, कालिकोट, सुर्खेत, डोटी, दार्चुला र डडेल्धुरामा एक-एक जनाको यसै अवधिमा ज्यान गएको केन्द्रको तथ्यांकले देखाउँछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी र जनावरको आक्रमणमा परी यो समय धेरैको ज्यान जाने गरेको छ ।
मनसुनजन्य विपद्का घटनाका कारण यस अवधिमा ३३ करोड ११ लाखभन्दा बढी बराबरको आर्थिक क्षति भइसकेको छ । मनसुनजन्य विपद्का घटनामा बाढीभन्दा पहिरोका कारण बढी मानवीय क्षति र भौतिक क्षति बाढीका कारण बढी हुने गरेको पाइन्छ ।
प्राधिकरणका प्र्रवक्ता डा. डिजन भट्टराईले यस वर्ष प्राकृतिक प्रकोपले ४ लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमान प्राधिकरणले गरेको बताए । यस वर्षको मनसुन गत १८ जेठबाट सुरु भई १४ असोजसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चार महिनाको मनसुनी अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।
नेपालको तराई र भित्री मधेसमा पर्ने २३ जिल्ला बाढीको उच्च जोखिममा छन् । प्राधिकरणका अनुसार पछिल्लो समय अव्यवस्थित संरचना निर्माण, नदीको बहाव क्षेत्रमा हुने अतिक्रमण तथा ढल निकास अभावका कारण सहरी क्षेत्रमा पनि बाढीको प्रकोप बढ्दै गएको छ ।
काठमाडौं उपत्यकामा अव्यवस्थित सहर (काठमाडौं, भक्तपुर, ललितपुर), हेटौंडा, चितवन, तुलसीपुर, घोराही एवं वीरेन्द्रनगर बाढीको दृष्टिबाट ‘उच्च प्रकोपयुक्त’ मानिएको छ ।
प्राधिकरणले कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, नवलपुर, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापालाई ‘बाढीको उच्च जोखिम’मा रहेका जिल्लाका रूपमा राखेको छ ।
बर्सेनि डुबान प्रकोप
बाढीका अलावा नेपालमा डुबान प्रकोप बर्सेनि हुने गरेको छ । नेपाल–भारत सीमा भएर बग्ने नदीमा विशेषगरी भारत उत्तर प्रदेश र बिहारमा नेपालको सीमानजिकै निर्माण गरिएका तटबन्ध तथा अग्ला राजमार्गले ती नदीको प्राकृतिक बहाव एवं निकासलाई अवरोध पु-याएका कारण तराईको जमिन बर्सेनि डुबानमा पर्ने गरेको छ ।
प्राधिकरणका अनुसार तराईका १९ बाहेकका जिल्ला भौगोलिक रूपमा हिमाली तथा पहाडी भू–भागमा अवस्थित छन् । ती जिल्लाका भिराला भू–भाग, राजमार्ग तथा अन्य सडकखण्डका भिराला भित्ता र नदीले कटान गरी बनाएका भिराला भू–खण्ड पहिरो जान सक्ने क्षेत्रमा पर्छन् ।
अव्यवस्थित सहरीकरण
अव्यवस्थित सहरीकरण, जथाभावी सडक निर्माण तथा अवैज्ञानिक भू–उपयोग, प्राकृतिक स्रोत (रोडा, बालुवा, ढुंगा) अनियन्त्रित दोहनलगायत कारण पहाडी भू–भाग पहिरोजन्य प्रकोपका हिसाबले जोखिमयुक्त छन् । छोटो समय हुने भारी वर्षा तथा बेलाबेला आउने भूकम्पका कारण पुराना तथा निष्क्रिय भइसकेका पहिरा पुनः सक्रिय हुने गर्छन्् ।
२०२६ देखि २०७५ सालसम्ममा गएका पहिराको तथ्यांक विश्लेषण गर्दा नेपालको महाभारत शृंखलादेखि उच्च हिमाली क्षेत्रबीचको भू–खण्डमा बढी मात्रामा पहिरो गएको पाइन्छ । पहिरोको घनत्वको हिसाबले बाग्मती तथा गण्डकी प्रदेश उच्च जोखिममा छन् । यसैगरी, लुम्बिनी तथा मधेस प्रदेश भने सापेक्षित रूपमा पहिरोको कम जोखिममा रहेको पाइन्छ । राजधानी दैनिकबाट