मनसुनअघि नै मेलम्ची पानी बन्द हुने

रिपोर्ट नेपाल | 2022 May 27 | 09:35 am 289

सिन्धुपाल्चोक, जेठ १३ः गत वर्ष आएको पहिरोसँगैको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका मनसुन सुरु हुनुअघि बन्द गर्न लागिएको छ । यस पटकको वर्षायाममा समेत बाढीपहिरो आउन सक्ने र खानेपानी आयोजनाको मुहान क्षेत्रमा पुनः क्षति नहोस् भन्ने उद्देश्यले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गर्न लागिएका हुन् ।

मुहान क्षेत्रलाई जोगाउन मुहान क्षेत्रको एक नम्बर ढोका ‘वफर ड्याम’  हेडवक्र्सअन्तर्गतका ९, १०, ३८ तथा अम्बाथानस्थित ‘अडिट पोर्टल’ (सुरुङ सफा गर्ने ढोका) बन्द गर्न फलामे ढोका तयार गरिएको छ । मुहान क्षेत्रमा बाढीको पूर्वसूचना दिने सतर्कताको घण्टीसमेत जडान गरिएको छ  ।

खानेपानी मन्त्रालयले मेलम्चीको पानी नआएका बेला काठमाडौँको बागमती, भक्तपुरको महादेव जलाशय तथा जमिनमुनिको पानी सङ्कलन गरी प्रशोधनपश्चात् उपत्यकामा वितरण गर्ने तयारी भइरहेको जनाएको छ । बागमती नदीबाट दैनिक १० करोड, महादेव जलाशयबाट दैनिक दुई करोड लिटर तथा जमिनमुनिबाट दैनिक आठ करोड गरी २० करोड लिटर पानी वितरण हुने जनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मनसुन सुरु हुनुपहिले मुहान र आयोजना क्षेत्रको संरक्षणमा भइरहेका कामबारे स्थलगत निरीक्षण गर्नुभयो । उहाँले पूर्वतयारी तथा आयोजना क्षेत्रमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका पूर्वतयारी पूरा गर्न मेलम्ची खानेपानी आयोजनाका कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री चौधरीले भने, “मनसुन सुरु भएपछि कुनै पनि बेला पुनः बाढी आएर मुहान क्षेत्रमा ठूलो क्षति हुनसक्छ । क्षति न्यूनीकरणका लागि सम्पूर्ण तयारी गर्नुहोला ।” उनले मेलम्चीको मुहानका ढोका कहिलेदेखि बन्द गर्ने भन्ने निर्णय विज्ञको सुझावको आधारमा हुने जानकारी दिए । मनसुन सुरु हुनुपूर्व मेलम्ची खानेपानी आयोजनाअन्तर्गत मुहान क्षेत्रका सबै ढोका बन्द गरिने र वर्षायाम सकिएलगत्तै पुनः सञ्चालन हुने गरी तयारी भइरहेको छ ।

उपत्यकामा भविष्यमा पानीको अभाव हुन नदिन खानेपानी मन्त्रालयले वैकल्पिक खानेपानीका मुहानबारे अध्ययन गरिरहेको छ । मकवानपुरको सिस्नेरी तथा ठोस्रे खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट ल्याउनेबारे मन्त्रालयले अध्ययन गरिरहेको जनाएको छ । गत वर्ष असार १ गते आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत तथा सफाइ पूरा गरी गत चैत २९ गतेदेखि पुनः सञ्चालन भएको थियो ।  गाेरखापत्र अनलाइनबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.