काठमाडौं, साउन १६: आपत विपतमा परेकालाई सहयोग र समर्थन गर्ने हो भने भगवानले आफूलाई हेर्छन भन्ने आफ्ना बाबु गोपालसिंह गरंजाबाट शिक्षा पाएका मंगलबहादुर गरंजाले सत्यवती पहिरो पीडितका लागि ५ हजार एक रुपैयाँ सहयोग गरेका छन् ।
गुल्मीको रुरु गाउँपालिका २ ग्वादी स्थायी बसोबास भएका गरंजा अहिले काठमाडौंको गौरीघाटमा परिवार सहित व्यवसाय गर्दै आएका छन् । बाबु गोपालसिंह र आमा कृष्णकुमारीको सन्तानका रुपमा रहेका मंगलबहादुर सानै उमेरदेखि कसैको दुःख र पीडा देख्न सक्दैनथे ।
साउन ६ गते राति आफ्नै जन्मभूमिको ठ्याक्कै पारी पट्टीको गाउँमा गएको भीषण पहिरोबाट १३ जनाले ज्यान गुमाएको र सयौंको संख्या बिचल्लीमा परेको खबर सुनेपछि गरंजा चिन्तित बनेका थिए । रिपोर्ट नेपाल डटकमले सहयोगका लागि समाचार मार्फत आग्रह गरेपछि उनले ५ हजार एक रुपैयाँ सहयोग गरेका हुन ।
सहयोग गर्न धन भएर मात्र हुँदैन मान चाहिन्छ भन्ने यी साधारण व्यवसाय गर्ने मनकारी मंगलबहादुरले उदाहरण देखाइदिएका छन् ।