गोरखा, जेठ २०: भूकम्पले क्षतिग्रस्त मनकामना मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी असोजभित्र मन्दिर तयार पारिसक्ने जीर्णोद्धार समितिले जनाएको छ। पहिले नै करिब ६ इन्च ढल्किएको मन्दिर २०७२ को भूकम्पछि थप एक फुट ढल्किएको थियो। त्यसपछि मन्दिर पूरै भत्काएर पुन: बनाउन लागिएको हो।
२०६७ मा जीर्णोद्घार समिति गठन गरी जीर्णोद्धारको तयारी थालिएकोमा करिब ५ वर्षपछि पूरै भत्काएर बनाउने योजना अघि सारियो। मन्दिर भत्काइए पनि नियमित पूजा रोकिएको छैन। २०७२ असारबाट पुनर्निर्माण थालिएको खबर कान्तिपुर दैनिकमा छ ।
आगामी असोजसम्म भक्तजनले मन्दिरभित्रै पूजा गर्ने व्यवस्था मिलाउने लक्ष्यसाथ काम भइरहेको समिति संयोजक नरेन्द्रबाबु श्रेष्ठ बताउँछन्। ‘काम धमाधम भइरहेको छ,’ उनले भने, ‘लक्ष्यअनुसारै हामी असोजमा पूरा गरिसक्छौं।’
पुनर्निर्मित मन्दिरको छानामा सुनको जलप लगाइएको छ। पुनर्निर्माणमा हालसम्म १० करोडभन्दा बढी खर्च भइसकेको छ । भक्तजनबाटै झन्डै ७ करोड रुपैयाँ संकलन भएको संयोजक श्रेष्ठले बताए।
मन्दिर पुनर्निर्माण सकिएसँगै गुरुयोजना बनाएर अन्य भौतिक संरचना निर्माणका काम गर्ने सहमति छ। ‘अहिले तल्लो छानामा राख्ने तामाको काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘जीर्णोद्घारको ९५ प्रतिशत काम सकियो।’