मध्यरातमा पूजा गर्ने प्रिन्सिपलसहित ५ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 25 | 07:51 am 2262

काठमाडौं, असोज ९: गाडेको धन अर्थात गाड धन निकाल्ने भन्दै पटक पटक मध्यरातमा पूजा गर्ने प्रिसिन्पलसहित पाँच जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

यस अघि विद्यालय परिसरमै गाडधन निकाल्न भन्दै मध्यरातमा मानव बली दिन खोजेको आरोप लागेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-३ अमहवास्थित गोल्डेन लाईफ इङ्लिस स्कूलका सञ्चालक तथा प्रिसिन्पल हरेन्द्र बडै शर्मासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले फेरि राति १० बजेतिर गाडधन निकाल्न भन्दै पूजा गरेपछि इलाका प्रहरी कार्यालय सेमरीले पक्राउ गरेको हो । उनले प्रतापुर गाउँपालिका–३ धनेबा खोला नजिकै शनिवार राति १० बजेतिर पिपलको बोटमा पुजा गरेको र त्यसको ५०० मिटर टाढा खोलाको छेउमा खाडल खन्दै गरेको अवस्थामा खोलामा माछा मार्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी राति साढे एक बजे जाँदा उक्त स्थानमा बलिरहेको बत्ति, माटोको भाडामा खिर पकाएको, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा प्रहरीले फेला पारेका खबर आजको राजधानी दैनिकमा छ।

प्रहरी आएपछि पुजामा संलग्न ५ जनामध्ये प्रिन्सिपल हरेन्द्र बडै शर्मा र भानु मुसहर भागेका थिए भने प्रतापुर–३ का ५५ वर्षीय ठगई प्रसाद मुसहर, उनका छोरा १८ वर्षीय बलिराम मुसहर र गुल्मी जिल्ला अर्बाैनी घर भई हाल सुनवल नगरपालिका–१२ भूमहीमा बस्दै आएका ३२ वर्षीय तिलक भट्टराईलाई घटनास्थलबाटै प्रहरीले फक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय सेमरीले प्रिन्सिपल हरेन्द्र बडै र भानु मुसहरलाई आईतबार विहान घरबाटै पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ गरेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा चलान गरेको छ । प्रिन्सिपल बडैमाथि यस अघि पनि विद्यालय प्राङ्गणमा गहिरो खाल्डो खनेर पुजा गरी महिलालाई बलि दिन लागेको आरोप लागेको थियो ।

गत जेठमा बलि दिन लागिएको भनिएकी प्रतापपुर–३ अमवाकी फुलमति मुसहरले आफूलाई बलि दिने प्रयास गरिएको भन्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

गत २ असोजदेखि पाल्हिनन्दन गाउपालिका–१ शंकरपुरका १२ वर्षीया बालक रोहित चौधरी हराइरहेको समयमा बडैले खाडल खनेर पहिलेझैं पुजा गरेको देखेपछि गाउँलेहरू सशंकित भएका हुन् । साईकलमा साथीको घरमा गएको भनिएका रोहितको अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।

पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सम्बन्धित व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेकोले दोषी ठहर भए कडाभन्दा कडा कारबाही हुने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.