मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा

रिपोर्ट नेपाल | 2021 Nov 30 | 07:44 am 1413

तेह्रथुम, मङ्सिर १४ः राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको काम प्रदेश १ मा द्रुत रूपमा अगाडि बढेको छ । विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्ग निर्माणको कामले गति लिएको छ । यस खण्डमा जिम्मेवार प्रशासनिक क्षेत्रबाट हुने निर्देशन र अनुगमनले निरन्तरता पाएसँगै यो आयोजनाको निर्माणले गति लिएको हो । तेह्रथुममा लोकमार्गको ११९ किलोमिटर क्षेत्रफल पर्छ । त्यसमध्ये यो सडकखण्ड २५ दशमलव पाँच किलोमिटर क्षेत्रफलमा रहेको छ ।

तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जिल्लाको वसन्तपुर–म्याङ्लुङ खण्डमा भइरहेको लोकमार्गको काम जतिसक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताए । उनले यो सडक निर्माणपछि बहुआयामिक फाइदा हुने भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

सम्झौतामा उल्लेख भएको मितिमै निर्माण सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गरिने उनको चेतावनी छ । उनले तोकिएकै समयमा तोकिएकै गुणस्तरमा काम सम्पन्न गर्न र त्यसको प्रगति प्रतिवेदन महिनाको दुई पटक जिल्ला प्रशासनलाई बुझाउन निर्देशन दिए ।
“प्रत्येक हप्ता सडक अनुगमन हुन्छ”, घिमिरेले भने, “काम सुस्त भए कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।” उनले प्रमुख जिल्ला अधिकारीका रूपमा तेह्रथुमको कमान्ड सम्हाल्दा जुन सडकको दुर्दशा छ र त्यसले जनतालाई जुन सास्ती मिलेको छ, त्यसलाई आफ्नो कार्यकालमा समाधान गर्ने बताए। गोरखापत्रसँग कुरा गर्दै उनले आफूले पटक–पटक छलफल तथा टेलिफोनबाट पनि लोकमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन गरेको जानकारी दिए ।

म्याङ्लुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले आयोजना निर्माणका क्रममा स्थानीय तहबाट गर्न सक्ने समस्या समाधान गर्न र माथिल्लो सरकारसँग समस्या समाधान गर्न आफूले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो खण्डको काम समयमै नसकिँदा तेह्रथुमवासी वर्षायाममा हिलो र हिउँदमा धुलोको मारमा पर्ने गरेका छन् । वर्षामा यहाँको यातायात ठप्प हुने गर्छ । मध्यपहाडी लोकमार्गका इन्जिनियर मनिषमान शाक्यले म्याङ्लुङ–वसन्तपुर सडकखण्ड आगामी चैत मसान्तसम्ममा कालोपत्रे भइसक्ने बताएका छन् ।

उपयुक्त निर्माण सामग्रीको अभावका कारण जिल्लामा सडक निर्माणको काम सुस्ताएकाले अब त्यो समस्या समाधान हुने उनले बताए । जिल्लाका अन्य खण्डभन्दा आफूले यही खण्डलाई विशेष प्राथमिकता दिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । यो सडकखण्डमा तीनवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । तीनवटै निर्माण कम्पनीले अवरोध नभएमा तोकिएकै समयमा सडक निर्माणको काम सम्पन्न गर्ने जनाएका छन् ।

वसन्तपुर–म्याङ्लुङ खण्ड दुई लेनमा स्तरोन्नति गर्न र कालोपत्रे गर्न अर्थ मन्त्रालयले दुई अर्ब सात करोड रुपियाँ बजेट विनियोजन गरेको छ । एक लेनको बाटो हुँदा यो खण्ड पहाडी इलाकाकै उत्कृष्ट सडकखण्डमध्ये एक मानिन्थ्यो । तर, दुई लेन बनाउन उक्त सडक उत्खनन भएर स्तरोन्नतिको काम सुस्ताउँदा सुविधाको सट्टा तेह्रथुमवासीले सास्ती भोग्नु परिरहेको छ ।

यो सडकखण्डको पहिलो खण्ड वसन्तपुर–लसुनेमा कालिका भभेश्वर जेबी कन्स्ट्रक्सनले कालोपत्रेको काम अगाडि बढाएको छ । यो सडकखण्डको लम्बाइ १० किलोमिटर छ । लसुने–जिरिखिम्ती–बगाले खण्डको १० दशमलव चार किलोमिटरमा आशिष आश्रय जेभी निर्माण सेवाले सडक विस्तार तथा बेस बिछ्याउने कामलाई तीव्रता दिएको छ । तर जिरिखिम्तीदेखि बगाले–म्याङ्लुङ खण्डको पाँच किलोमिटर लामो सडकखण्डमा भने अझै पनि ट्र्याक खोल्ने काम सकिएको छैन । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.