मधेशमा सशस्त्र मुख्यालयबाटै घुमुवा परिचालन

| 2023 Nov 06 | 07:55 am 1693

काठमाडौं, कार्तिक २० । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले भारतसँग सीमा जोडिएका जिल्लाका बाहिनी, गण, गुल्म र बीओपीका इन्चार्जहरुले सादा पोशाकमा घुमुवा परिचालन गर्दा अनियमितता बढेको, तस्करी मौलाएको उल्लेख गर्दै २०७९ जेठमा देशभर सादा पोशाकमा घुमुवा खटाउन नपाउने गरी परिपत्र गरे । परिपत्र गरेको केही समय घुमुवा परिचालन रोकियो । विवादित घुमुवाहरुलाई काज गरेर विकट जिल्लातिर पनि लखेटियो ।

तर डेढ वर्ष नबित्दै सशस्त्रमा स्वयं आईजीपी राजु अर्यालले नै सशस्त्र मुख्यालयबाटै घुमुवा खटाएको खुलासा भएको छ । सहायक हवल्दार ईमाम आलमलाई मुख्यालयबाटै मधेश प्रदेशमा खटिएको स्रोतले बताएको छ ।

आलमको दरबन्दी ईलाम हो । तर उनी दरबन्दीमा नगई बिरामीको बहाना बनाएर बिगत डेढ वर्ष भन्दा लामो समय देखी सशस्त्रको बलम्बु अस्पतालमा कार्यरत देखाई महिनाको ५ दिन अस्पताल र महिनाको २५ दिन मधेश प्रदेशमा गएर अबैध कारोबार गर्ने तस्कर ब्यपारीबाट असुली गरिरहेको समाचार प्राप्त भएको छ ।

आलम महिनाको २५ दिन बाहिर रहे पनि हाजिरी एसपी पन्तकै आदेशमा ३० मा ३० दिन अस्पतालमा नै रहेको देखाएर हाजिरी बनाउने गरेका छन ।

घुमुवा आलमले मधेश प्रदेशको सिमानाकामा चोरी तस्करी लगायतका अबैध काम गर्ने तस्कर ब्यापारीबाट असुलेको रकमबाट काठमाडौं सशस्त्रको बलम्बु अस्पतालनजिकै रहेका १८ नम्बर गणका एसपी हर्क पन्तलाई पनि बुझाउने गरेका छन । एसपी पन्तले आलमको रासनबापतको रकम गोजि हल्ने गरेको र तस्करबाट असुलेको रकमबाट पनि भाग पाएकै कारण रोक लगाएका छैन ।

सहायक हवल्दार ईमाम आलम जागिर खाएदेखि नै मधेश प्रदेश नछाड्नेमा पर्दछन् । उनको सानसौकत डीआईजीको भन्दा पनि रवाफपूर्ण छ । उनले सशस्त्र प्रहरीमा भर्ना भएदेखि सरकारी पोखाक लगाएर कहिले डियुटी गरेका छैन। पुख्र्यौली घर बारामा भएका आलमको बीरगञ्जमै घरदेखि जग्गा जमिन समेत रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनलाई विगतमा गणेश ठाडा मगरले मधेश प्रदेशमा बाहिनीकै घुमुवाका रुपमा खटाएर लाभ लिएका थिए । इमामको पहुँच तत्कालीन आईजीपी शैलेन्द्र खनालसम्म सोझै रहेको थियो ।

२०७९ जेठमा घुमुवा हटाउने निर्णयमा इमाम पनि परे । तर, उनी बिरामी काज भनेर सशस्त्रको बलम्बु अस्पतालमा आए । अस्पतालमा बिरामी काजमा आएको डेढ वर्ष बितिसकेको छ । बिरामी काजकै अवधिमा उनको सरुवा ईलाममा भयो तर एसपपीलाई भाग बुझाउने गरेकै कारण उनलाई दरबन्दी पठाएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.