मदिरा तथा जुवातासमा प्रतिबन्ध

रिपोर्ट नेपाल | 2020 Aug 08 | 07:46 am 2277

बैतडी, साउन २४ः जिल्लाको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।

पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको हो । मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण विभिन्न खालका समस्या सिर्जना भएकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाएको हो ।

समितिको निर्णय विपरीत कसैले मदिरा बिक्री गरेको पाइएमा १० हजार जरिवाना गरिने निर्णय भएको स्थानीय अर्जुन लुहारले जानकारी दिए । यस्तै मदिरा सेवन गर्ने र ओसारपोसार गर्नेलाई पाँच हजार जरिवाना गर्ने निर्णय भएको छ ।

मदिराका कारण समाजमा विभिन्न खालका हिंसाका घटना भइरहेकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाइएको मदिरा नियन्त्रण समितिका राजेन्द्र धामीले जानकारी दिए ।

यसका साथै जिल्लाको डिलाशैनी गाउँपालिका–७ को मनेकुडा टोलमा पनि मदिरा र जुवातासमा रोक लगाइएको छ । बेतालेश्वर युवा क्लबमा आबद्ध युवाले गाउँमा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले जानकारी दिए । वडासदस्य लक्ष्मणबहादुर ऐरको उपस्थितिमा बसेको बैठकले वडाभित्र मदिरा बिक्री वितरण गरेमा पाँच हजार ५ सय ५५ जरिवाना गर्ने निर्णय गरेको छ ।

यस्तै मदिरा सेवन गरी होहल्ला गरेमा दुई हजार ६ सय, मदिरा ओसारपोसार गरेमा दुई हजार जरिवाना लिने निर्णय गरेको युवा क्लबका अध्यक्ष कम्मान ऐरले जानकारी दिए । यस्तै कसैले जुवातास खेलाएमा एक हजार सय र जुवातास खेलेमा एक हजार जरिवाना गर्ने निर्णयसमेत भएको जनाइएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.