मजदुर र दु:ख पाएका जनतालाई सोध्नुस् सरकार कहाँ छ?, जवाफ पाउनुहुनेछ : प्रधानमन्त्री ओली

| 2018 Nov 27 | 02:30 pm 1763

काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको बताएका छन् ।  प्रज्ञा प्रतिष्ठानमा मंगलबार सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ समारोहमा प्रधानमन्त्रीले सरकारले आफ्नो नीति र कार्यक्रम अनुसार काम गरिरहेको दावी गरे।

प्रधानमन्त्री ओलीले सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ गरेर गतिलो जवाफ दिइएको बताएका छन् । कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको भन्दै उनले भने, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अघि भने, ‘कोक्रोमा नआउँदैदेखि अन्तिम अवस्थासम्मका लागि यो कार्यक्रम हो’ प्रधानमन्त्रीले सरकार नदेख्नेलाई प्रश्न गर्दै भने, ‘सरकार मजदुरलाई सोध्नुस् कहाँ छ , दुख पाएका जनतालाई सोध्नुस् जवाफ पाउनुहुनेछ ।’

मेलम्ची खानेपानी आयोजना पनि किन पूरा भएन भन्ने आलोचना आफूले सुनेको बताउँदै प्रधानमन्त्रीले आफ्नो सरकार गठन भएपछि दिनरात गरेर काम भइरहेको दावी गरे। ९ महिनामा जति काम गर्नुपर्ने हो त्यति काम भएको दावी गर्दै प्रधानमन्त्रीले जनता निराश हुनुपर्ने स्थिति नरहेको बताए।

९ महिनामा किन यस्तो भएन र किन उस्तो भएन भनेर समाजलाई अल्मल्याउन खोजिएको छ। ९ महिनामा हुनुपर्ने काम भएको छ। जनता निराश हुनुपर्ने अवस्था छैन’, प्रधानमन्त्रीले भने। सरकार नीति, कार्यक्रम र भिजनमा स्पष्ट रहेको र कार्यान्वयनको दिशामा रहेको उनले बताए। ‘हामी परिमाणमा जान चाहन्छौँ। जनताले देखाएको बाटोमा नेपाल हिँड्छ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.