मजदुरीका भरमा सीमा क्षेत्रका बासिन्दा

रिपोर्ट नेपाल | 2023 Jan 22 | 02:45 pm 129

कञ्चनपुर, माघ ८ः  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ६३ वर्षीय परदेशी दमाईं नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै बस्दै आएका छन् । उनलाई थातथलो डडेल्धुराको अजयमेरु गाउँपालिबाट चौपायासहित लिएर आएको ३५ वर्ष नाघेको छ । सहज जीवनयापनको खोजीमा उनी तराई झरेका हुन् ।

उनी श्रीमती, छोरी र ज्वाइँसँग बस्दै आएका छन् । परम्परागत पेसा सिलाइ–कटाइ भए पनि सीप सिक्न नसक्दा उनले मजदुरी गरेर परिवारको खर्च चलाउँदै आएका छन् । ‘पहाडमा आफ्नो भन्ने सम्पत्ति थिएन’, उनले भने, ‘जीविका चलाउनै धौधौ हुन थालेपछि तराई झरेको हुँ, पहिला तराईमा आएर ठाउँ हेरे त्यसपछि बसाइँ सारे ।’

उमेर छँदा नजिकको वन क्षेत्र र महाकाली नदीले बगाएर ल्याउने दाउरा सङ्कलन गरी भारतीय बजार टनकपुर पुगेर बेच्ने गरेको उनले बताए । ‘दाउराको भारी पिठ्यूँमा बोकेर भारतीय बजारमा बेच्दा साँझ–बिहानको छाक टार्दै आएको थिए’, उनले भने, ‘दाउरा सङ्कलन नगरेका बेला मजदुरी गर्थे, अहिले उमेर ढल्किँदै जाँदा दाउरा बोक्न सक्दैन, मजदुरी गर्न सकिने अवस्था छैन ।’

उनका छोरी ज्वाइँले भारतीय बजारमा मजदुरी गरी कमाएर ल्याएको पैसाबाट उनको परिवारको खर्च धानिँदै आएको छ । मुक्तहलिया पुनस्र्थापन कार्यक्रमअन्तर्गत दमाईंले सरकारीतर्फबाट घर पाएका छन् । उनले घरको छानो भने बनाउन पाएका छैनन् । भारतीय सुरक्षाकर्मीले छानोमा जस्तापाता राख्न नदिएपछि प्लास्टिकको त्रिपाल राखेको उनी बताउँछन् ।

दशगजा क्षेत्रमा दमाईं परिवारले बसोबास गर्दै आएको जग्गा पर्छ भन्दै भारतीय सुरक्षाकर्मीले पाँच वर्षअघि त्रिपाल राख्न नदिएको उनी सुनाउँछन् । भारतीय पक्षबाट सताउने कार्य भने नभएको उनले बताए । उनी जस्तै पुनस्र्थापन कार्यक्रमअन्तर्गत घर पाएका चार परिवारले घरको छानोमा जस्तापाता राख्न पाएका छैनन् । परदेशी जस्तै सीमा क्षेत्रमा बस्दै आएका मदन सार्कीको घरको छानोमा पनि त्रिपाल राखिएको छ । त्रिपालबाट बर्सातका बेला पानी चुहिन्छ, भिज्दै रात काट्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘आर्थिक विपन्नताका कारण उपचार गर्न नसक्दा भाइ र बुबाको यसै क्षेत्रमा मृत्यु भो’, उनले भने, ‘तीन दशकदेखि बस्दै आए पनि विपन्नता भएका व्यक्तिका लागि कुनै निकायबाट आर्थिक अवस्थामा सुधार ल्याउने कार्यक्रम आउन सकेका छैनन् ।’ सीमा क्षेत्रमा बस्दै आएका परिवारको एक मात्रै कमाईको साधन मजदुरी बाहेक अर्को विकल्प नभएको उनले सुनाए । ‘मजदुरी पाइएका बेला पेटभरि खान पाइन्छ’, उनले भने, ‘मजदुरी नपाइए कैयौँ दिन भोकै पनि रहेका छौँ ।’

सीमा क्षेत्रकै गाउँ ब्रह्मदेवमा बस्दै आएकी बसन्ती ढिकालसँग पनि आफ्नो स्वामित्वको जग्गा र घर छैन । अर्काको जग्गामा झुपडी बनाएर बस्दै आएकी ढकालका श्रीमान् भारतमा कमाउनका लागि गएको पाँच वर्ष बिते पनि घर फर्किएका छैनन् ।

दुई सानै उमेरका छोरा र आफ्नो खर्च धान्नका लागि उनले मजदुरी गर्दै आएकी छन् । घर खर्च चलाउनका लागि उनले अहिले बाख्रा चराउने काम पाएकी छन् । बाख्रा चराउने कार्य गरेबापत उनले महिनामा आठ सय भारतीय रुपैयाँ पाउँछिन् । प्रतिबाख्राको एक सय भारतीय रुपैयाँका दरले रकम पाउने गरिएको छ । बाख्रा चराएर आउने रकमले घर खर्च चलाउन धौधौ भएको उनले बताइन् ।

उनका दुवै छोरा नजिकैको सामुदायिक विद्यालयमा पढ्दै आएका छन् । ‘माइतीले खानाका लागि अन्नको सहयोग गर्ने भएकाले जीविका चलेको छ’, उनले भनिन्, ‘बाख्रा चराएर आउने रकमले खर्च धान्न सकिँदैन ।’ सीमा क्षेत्रमा बसोबास गर्दै आएका विपन्न परिवार सीपमूलक तालिम उपलब्ध गराई व्यवसायतर्फ उन्मुख गराउनुपर्ने बताउँछिन् । विना धितोको कर्जाको व्यवस्था गरी व्यावसायिक कार्यमा संलग्न गराउनुपर्ने उनीहरुको माग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.