मकवानपुरमा फेरि जंगली हात्तीको ताण्डव, एक महिलाको मृत्यु

| 2023 Feb 21 | 08:09 am 2157

मकवानपुर, फागुन ९ः पश्चिम मकवानपुरमा फेरि जंगली हात्तीको आक्रमण शुरू भएको छ । हात्तीको आक्रमणबाट सोमबार एक वृद्धाको मृत्यु भएको छ ।

गाउँपालिकाको हाँडीखोला क्षेत्रमा जंगली हात्तीले आइतबार साँझबाट आतंक मच्चाएको थियो । आइतबार साँझ उक्त क्षेत्रमा देखा परेको हात्तीको आक्रमणबाट सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारीलाई हात्तीले आक्रमण गर्दा उनको सोमबार साँझ मृत्यु भएको हो ।

हात्तीले अधिकारीलाई आक्रमण गरेसँगै आक्रोशित स्थानीयले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको पोस्टमा तोडफोड गरेका छन् । पोस्टनजिक स्थानीयले आगजनी पनि गरेका छन् ।

आक्रोशित स्थानीयको तोडफोडबाट सेनाले प्रयोग गर्दै आएको गाडीसहित कार्यालय र गोलघरमा क्षति पुगेको छ । पर्सा राष्ट्रिय निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयको जिप तोडफोड भएको छ । सोमबार मनहरी–४ का स्थानीयले ना१झ ९८८ नम्बर जिप तोडफोड गरेका हुन् ।

हात्ती लखेट्न र धनजनको क्षति हुन नदिन कुनै भूमिका नखेलेको भन्दै स्थानीय आक्रोशित भएका छन् । निकुञ्जले मानिसलाई भन्दा जनावरलाई बढी महत्व दिएको भन्दै आक्रोशित स्थानीयले नाराबाजी गरे ।

अघिल्ला वर्षहरूमा सोही क्षेत्रमा हात्तीको आक्रमणबाट मानिसको मृत्यु हुँदै आएको छ । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष सीताराम अर्यालले केही दिनयता हात्तीहरू देखा परेका र तिनले स्थानीयलाई हानि पुर्याइरहेको जानकारी दिए ।

हात्ती नियन्त्रणका लागि सेना खटाइएको छ । मनहरीको प्रतापपुरदेखि हाँडीखोलासम्म क्षति पुर्याइरहेको छ । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले हात्ती नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरिएको जानकारी दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.