मकवानपुरमा पहिरोले पुरिएर एक बेपत्ता, एउटा स्काभेटर र चारवटा टिप्पर पुरिए

| 2020 Aug 14 | 08:08 am 2174

मकवानपुर, साउन ३०ः मकवानपुरको थाहा नगरपालिका–१२ स्थित त्रिभुवन राजपथअन्तर्गत गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५४ वर्षीय काले मोक्तान रहेको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।

गैरीगाउँस्थित सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि बिहीबार साँझ ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र चारवटा टिप्पर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए । उनी सम्पर्कविहीन भएपछि बेहोस भएकी उनकी पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पुर्याएर उपचार गरिएको छ ।

पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो । अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.