मकवानपुर, माघ १३: जिल्लाको दुई स्थानमा रहेको एनसेल टावरमा अज्ञात समूहद्वारा आगजनी भएको छ।
गएराति भीमफेदी गाउँपालिकाको देउरालीमा रहेको एनसेल टावरमा अज्ञात समूहबाट आगजनी भएको हो। आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको नेतृत्वमा प्रहरी टोली पुगिसेकेको बताइएको छ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली पुगेको छ।
घटनाबारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ। यसअघि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एनसेल टावरमा आगजनी गरेकाले यस घटना पनि त्यही समूहले गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।