मंगलबारदेखि कांग्रेसले सरकारको दोहोलो काढ्ने

रिपोर्ट नेपाल | 2019 Sep 08 | 10:55 am 2693

  • कृष्ण प्रसाद सापकोटा

काठमाडौं, भदौ २२: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री बनेको आज आइतबार ५ सय ७१ दिन पुगेको छ ।

संविधानसभाको माध्यमबाट बनेको संविधान अनुरुप सम्पन्न निर्वाचनबाट केपी नेतृत्वको दुई तिहाई सांसदको समर्थनको सरकारबाट जनताले जे जति आशा र भरोसा गरेका थिए ती सबै कुराहरु निरासामा परिणत भएका छन् । बितेका यी डेढ वर्ष भन्दा बढीका दिनका विषयमा विचार विश्लेषण गर्दा सरकार जन अपेक्षा अनुरुप पटक्कै चलेको पाइएको छैन् ।

नेपाली कांग्रेस जस्तो आपसी द्वान्दमा फसेको पशुपतिनाथका कृपाले चलेको पार्टी प्रमुख प्रतिपक्षमा रहेका बेला समेत सरकार किन जनचाहाना अनुरुप चल्न सकेको छैन भन्ने विषयले नेपाली राजनीति बजारमा चर्चा चल्न थालेको छ ।

सरकारका गलत कृयाकलापका विरुद्ध भन्दा आफ्नै पार्टीका गुट उपगुट र सहगुटको आलोचना गर्दा समय खर्चिने कांग्रेस जस्तो पार्टी प्रतिपक्षमा भएका कारणले सरकार जतिसुकै मन्द गतिमा चलेपनि उसका विरुद्ध गोलबन्द आवाज उठ्न सकेको छैन । डेढ वर्ष भन्दा बढी चिर निन्द्रामा रहेका कांग्रेस यतिखेर व्यूतिएको जस्तो आभाष मिल्न थालेको छ ।

बितेका यी अविधिमा सरकार जन अपेक्षा र आशा अनुरुप चल्नुको सट्टा लोकतान्त्रिक पद्धतीलाई अनेक कोणबाट भत्काउँदै निरंकुश र अधिनायकवादी शैलीले अघि बढेको निश्कर्ष निकाल्दै नेपाली कांग्रेसले आन्तरिक किचलोलाई थाँती राखी भदौ २४ गते देखि दोस्रो चरणको जनजागरण अभियान सुरु गर्ने भएको छ ।

जननायक नेता बीपी कोइरालाको १०६औं जयन्तीको अवसर पारेर देशका ७७ वटै जिल्लाबाट सुरु हुने जनजागरण अभियानमा सरकारको गलत र सर्वसत्तावादको बारेमा जनतालाई जानिफकार गराउने कांग्रेसले बताएको छ । बढ्दो महंगी, भष्ट्राचार, बलात्कार लगायत सरकारले ल्याएका अलोकतान्त्रि विधेयकका विरुद्ध जनतालाई जागरुक बनाउनका लागि दोस्रो जागरण सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ ।

यस अघि बैशाख २५ गते देखि जेठ २५ गतेसम्म गरिएको जागरणमा जनतालाई सरकारको गतिविधि बारे बुझाउन भन्दा पनि नेतृत्व एक आपसमा जुहारी खेलेर सम्पन्न भएको थियो । संगठ सुदृढीकरण गर्ने देखि सरकारका गलत कृयाकलापका विषयमा जनतालाई जागरुक बनाउने उद्देश्य लिएको कांग्रेसले यस पटक भने आपसी वाद–विवाद र टिका–टिप्पणी नगर्ने भएको छ ।

मंगलबार देखि एकै साथ ७७ वटै जिल्लाबाट सुरु हुने जागरण अभियानमा सरकारको दोहोलो काढ्ने बताई पनि कस्तो हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.