काठमाडौं, असार १४: मंगलबारदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
आज रातिबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप र काठमाडौ उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको छ ।
जारी निषेधाज्ञालाई खुकुलो पार्दै जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय बैठकले गरेको हो। उक्त निर्णयसँगै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक बस संचालनमा आउनेछन्।
यसअघि सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान पनि खोल्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग यातायात व्यवसायीहरूले राखेका थिए।
सार्वजनिक यातायात सञ्चालन गर्दा चालक, सहचालक र यात्रुले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ।
यसैगरी बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत व्यवसाय समय तोकेर यस अघि खुलाउन दिइएको थियो ।किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् ।
थप निषेधाज्ञामा सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भीडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।