विराटनगर , जेष्ठ २६: , प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले तीनै तहका सरकारबीच विवाद रहेको भन्दै अफवाह फैलाउन लागेको आरोप लगाएका छन् ।
शनिबार प्रदेश १ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारबीच विवाद नरहेको भन्दै त्यसको बचाउ गरेका हुन् ।
‘यो देश एउटै छ, यो देशमा एउटै सरकार छ,’ प्रम ओलीले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच कुनै विवाद छैन् यसमा कसैलाई भ्रम छ भने आजैबाट त्यागे हुन्छ।’
झण्डै दुई घण्टा लामो भाषणको अधिकांश समय प्रदेशको विकासका सम्भावना बारे खर्चिएका ओलीले जनताको अपेक्षा पूरा हुने गरेर काम गर्न प्रदेश सांसदलाई आग्रह गरेका छन्।
प्रदेश १ लाई प्रकृतिले समेत माया गरेको बताउँदै प्रम ओलीले यसलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताएका थिए । सगरमाथासहित ८ हजार मिटर भन्दा अग्ला ८ वटा हिमाल यहि प्रदेशमा रहेको उल्लेख गर्दै सबैभन्दा होचो स्थान समेत यही प्रदेशमा छ । उनले भ्रष्टाचारका विषयमा शुन्यसहनशिलता अपनाउन प्रदेश सरकार र कर्मचारीलार्इ आग्रह गरेका छन् ।
हामी शासन गर्नका लागि नभइ सेवा, सुशासन र विकास गर्न आएका हौं यो कुरा सबैले बुझ्नु जरुरी भएको उनले उल्लेख गरेका छन् ।
प्रदेश सभा बैठकलार्इ सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले यस क्षेत्रका उद्योगी व्यवसायीसंग भेट गरेका छन्।