काठमाडौं, साउन २ : नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ ।
अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको र वार्ता केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने प्रयासमा केन्द्रित रहेको भन्दै संघले सेवा बन्द गर्ने घोषणा गरेको हो ।
संघकाे विज्ञ टोलीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार गर्नेभन्दा सरकार केसीले जीवन त्याग्नु पर्ने परिस्थितितर्फ अग्रसर भएको आरोपसमेत लगाएको छ । संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र काठमाडौं उपत्यकामा दिउँसो १ बजे माइतीघर मण्डलामा चिकित्सकलाई भेला हुन समेत आग्रह गरेकाे छ ।
एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीको आवाज सरकारसम्म पु¥याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्ने संघको विश्वास छ । संघले सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।