भूपू गोर्खालाई सरकारको बेवास्ता -१

रिपोर्ट नेपाल | 2020 Jul 27 | 07:50 pm 2763

  • बसन्त भुजेल

विदेशमा कार्यरत आफ्ना देशका जनताले बेहोर्दै आएका समस्या समाधानका लागि हाम्रो देशले अहिले सम्म ठोस नीति बनाएको छैन । खाडी मुलुकहरुमा बैदेशिक रोजगारी सुरु भएपछि मात्रै केही पहल सुरु भएको देखिएको छ , तर यस्ता पहलहरु पर्याप्त छैनन् ।

वास्तवमा भन्ने हो भने पहाडका कुना कन्दरामा बसोवास गर्ने सर्वसाधारण नेपालीहरुले पैसाको मुख देख्न पाएको गोर्खा भर्ती केन्द्र खुलेपछि मात्रै हो । सुगौली सन्धी प्रति असन्तुष्ट बलभद्र कुँवर लगायतका केही सैनिक अधिकृतहरु पञ्जावको सेनामा भर्ती भएपछि गोर्खा भर्ती केन्द्रका लागि मार्ग प्रसस्त भएको हो । लडाँइमा निपुर्ण मानिने गोर्खालीलाई आफ्नो पकडमा राखि राख्न बेलायतले आफ्नो उपनिवेश भारतमा गोर्खा भर्ती केन्द्रको स्थापना गरेको इतिहास छ । हाल पाकिस्तानमा पर्ने लाहोरमा भर्तीकेन्द्र खोलिएको थियो । त्यसैले गोर्खा सेनामा भर्ती हुन जानेहरुलाई लाहुरे भन्न थालियो । अहिले पनि त्यो प्रचलन छ । अहिले त विदेशमा जे काम गर्न गए पनि लाहुरे भन्ने गरिन्छ । वास्तवमा लाहुरे शब्द ब्राण्ड नै बनिसकेको छ ।

जुन बेला विश्वमा उपनिवेशवादको प्रचलन थियो त्यो बेला बेलायत कहिल्यै सूर्य नआस्ताउने देशका रुपमा परिचित थियो । युद्धमा बेलायतले यसरी सफलता पाउनुका पछाडी मुख्य भूमीका गोर्खा सेनाकै थियो । गोर्खा सेनाको साथ लिएर बेलायतले धेरै युद्ध जित्यो । साथै आफुले युद्ध जितेर प्राप्त गरेका भुभागको शासन व्यवस्था संरक्षणका लागि गोर्खा सेनालाई नै बेलायतले भरपर्दो ठान्यो । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा लाखौं नेपाली गोर्खा सेनामा भर्ती भएर बेलायतको पक्षमा लडे । पहिलो विश्वयुद्धमा त लाखौंको ज्यान गयो । त्यतिबेला त नेपालको जनसंख्या नै घटेको थियो ।

यहाँनिर रोचक प्रसंग के छ भने गोर्खा सेनामा काम गर्ने नेपालीहरुको टाउको गनेर राणा सरकारले बेलायतबाट रोयल्टी लिन्थ्यो । तर त्यो रोयल्टी सिधै राणा शासकहरुको व्याक्तिगत ढुकुटीमा जम्मा हुन्थ्यो । राणाहरुले १ सय ४ वर्षे जहानिया राणा शासनका बेला निर्माण गरेका दरवार त्यही रोयल्टीको उपज थियो । यसैगरी आफ्नो सेनामा भर्ती हुनेहरु सामान्य लेखपढ गर्न अर्थात कम्तीमा पनि घरमा चिठी लेखेर पठाउन र घरबाट आएको चिठी पढ्न सक्षम होउन भनेर बेलायात सरकारले पहाडका कुना कन्दरामा विद्यालय खोलिदिएको थियो । बाहुन–क्षेत्री बाहेक अरु जातका नेपालीहरुले अक्षर चिन्ने मौका पाएको यही बेलादेखि हो । त्यतिबेला सम्म मुलुकका शासकहरुमा पहाडका कुना कन्दराका गाउँ तथा क्षेत्री बाहुन बाहेक अरुले शिक्षाको अवसर पाउनु पर्छ भन्ने चेतना थिएन ।

यसैगरी नेपालका गाउँहरुमा आधुनिक सभ्यताको प्रवेश गराएको पनि गोर्खा सैनिकहरुले नै हो । त्यतिबेला सम्म गाउँमा चिया खाने चलन थिएन, गाउँका मानिसले सावुन, दन्त मन्जन, ब्रस देखेकै थिएनन् । दारी काट्ने व्लेड तथा मेसिन देखेकै थिएनन् । टर्च लाइट तथा लालटीन एवं मेनटोल देखेका थिएनन् । तरकारीमा हालिने मसला (जीरा) थाहा थिएन । नरिवल देख्ने कुरै भएन । यहाँ सम्मकी धेरै जसोले त अनुहार हेर्ने ऐना समेत देखेका थिएनन् । तर, गोर्खा भर्तीकेन्द्र खुलेपछि नेपालका कुना कन्दराका गाउँहरु सिधै युरोपसँग जोडिए । अर्थात गोर्खा सेनामा भर्ती हुनेहरुको युरोपियन सँग बसउठ भयो । यस क्रममा सीकेको सभ्यता उनीहरुले गाउँमा पुर्याए । रिटार्यड भएर गाउँमा गएपछि उनीहरुले घरलाई व्यवस्थित बनाए । बाटो घाटो तथा घर–आँगन सफा राख्ने, फलफुलका विरुवा रोप्ने, तरकारी खेती गर्ने, खेलकुद तथा व्यायम गर्ने विधिहरु पनि सिकाए । एक हिसावले भन्नु पर्दा गोर्खा भर्ती केन्द्र नेपालीका निम्ति बरदान सावित भयो । किनकी त्यतिबेला तराई तथा बेसी क्षेत्रमा औलोका कारण बसोबास तथा खेतीपाती सम्भव थिएन । पहाडको भिरालो तथा चीसो ठाउँमा उत्पादित अन्नले बर्षभरी खान पुग्ने अवस्था थिएन । त्यसैले आफ्नो ज्यानको परवाह नगरी नेपालीहरु गोर्खा सेनामा भर्ती भए । इमान्दारी पूर्वकउनीहरुले सेवा गरे ।

गोर्खालीहरुले पुर्याएको सेवाकै कारण बेलायतले विश्वमाथि शासन गर्यो तर बेलायतलाई विश्वमाथि शासन गर्ने हैसियतमा पुर्याउने गोर्खालीहरुले के पाए ? भन्ने प्रश्नको उत्तर ज्यादै दर्दनाक छ । पहिलो विश्वयुद्धमा गोर्खालीहरु कती भर्ती भएका थिए ? कति मारिएका थिए ? कति अंगभंग भएका थिए ? त्यसको न रेकर्ड छ, न त लेखा जोखा छ । तर दोस्रो विश्वयुद्धको भने थोरै भए पनि रेकर्ड छ, लेखाजोखा छ । यो रेकर्ड र लेखा जोखा बुझ्न कोसिस गर्ने हो भने धेरै नेपालीका आँखाबाट आँसु झर्छ । मारिनेहरु कतिपयको पत्तो खवर भएन । कुकुर मोराई भयो । भागेर आउनेहरुको रेकर्ड राखिएन । युद्ध समाप्त भए पछि अब यति धेरै जनशक्ति चाँहिदैन भनेर करिव दुई तिहाईलाई खालीहात पठाइयो । पेन्सनको सुविधा समेत दिइएन । पुरा अवधी जसले काम गरे उनीहरुलाई नाम मात्रकै पेन्सन दिइयो । भेदभाव यतिसम्म भयो कि एउटै पदमा काम गर्ने गोरा सैनिकले भन्दा गोर्खा सैनिकले ५० गुणा कम तलव तथा पेन्सन दिने प्रवन्ध गरियो ।  यो अन्यायका विरुद्ध भूतपूर्व गोर्खा सैनिकहरुले आवाज उठाए ।

पंचायतकालमा त आवाज उठाउने गुञ्जायस नै थिएन । २०४६ सालको परिवर्तन पछि आवाज उठाउने वातावरण बनेको हो । तर त्यतिबेलाको सरकारले वास्तै गरेन अर्थात भूतपूर्वगोर्खालीहरु यस्तो समस्यामा छन् भन्ने कुरा त्यतिबेला राजनीतिक दलका नेताहरुले बुझेनन् । उल्टो अर्थमा लिए । यति राम्रो सुविधा हुँदा पनि असन्तुष्टि प्रकट गरियो भने भोली गोर्खा भर्ती केन्द्र नै बन्द हुन्छ कि ? भन्ने डर त्यतिबेलाका नेताहरुमा देखियो । किनकी जति भेदभाव गरिए पनि खाडी मलेसिया तथा भारतमा दरवान बन्न जानेहरुको तुलनामा गोर्खा सेनामा कार्यरत नेपालीहरुको सुविधा कयौंगुणा बढी थियो । त्यसैले सरकार वास्तविकता बुझ्न पट्टी लागेन । गोर्खा सेनालाई भेदभाव भएको छ है, भनेर बेलायत सरकारलाई औपचारिक रुपमा जानकारी दिएको भए काण्ड पुग्ने अवस्था थियो । तर सरकारमा बस्नेहरुले हिम्मत गरेनन् । बेलायतमै गएर त्यहाँका सांसदहरु नागरिक समाजका अगुवाहरु मन्त्रीहरुलाई हार गुहार गर्दै आफ्ना कुराहरु राख्न थाले भूपु गोर्खा हरुले ।

गोर्खाली सेना माथि यति ठूलो भेदभाव भएको समाचार बेलायतकी प्रसिद्ध अभिनेतृ जोहना लुम्लेले पढिछन् । यो समाचारले उनको पेट पोलेछ । किनकी उनका पिता पनि गोर्खा सेनाकै मोर्चामा रहेर जापान विरुद्ध बर्मामा लडाँइ लडेका रहेछन् । लडाँइका क्रममा उनी दुस्मनको फन्दामा परेछन् । दुस्मनले मार्नै लाग्दा गोर्खाली सेनाका जवान लछुमन गुरुङले उनलाई बचाएका रहेछन् । यो घटनापछि जोहना लुम्लेको जन्म भएको रहेछ । त्यसैले उनी आफूलाई गोर्खालीकी छोरी भन्न रुचाउँदी रहिछन् । उनी भन्ने गर्दी रहिछन् –‘ गोर्खाली नभएको भए मेरा पिताजी त्यतिबेला नै मारिने रहेछन् , म त जन्मन नै नपाउने रहेछु ।’

गोर्खालीसेनामाथि भेदभाव भएको थाहा पाएपछि उनी अभिनयको काम स्थगित राखेरै समान सुविधा दिलाउने अभियानमा अहोरात्र जुटिन । उनले आफ्नै अगुवाईमा बेलायतकै अदालतमा मुद्धा दायर गरिन । यो भेदभाव वारे त्यहाँका रक्षा मन्त्री, प्रधानमन्त्री सभामुख, महारानी सम्मलाई अवगत गराइन । यसपछि मात्रै गोर्खा सैनिकहरुको सेवा सुविधा बढेको हो । दोस्रो विश्वयुद्ध तथा त्यस पछिका पिडीत गोर्खालीहरुले थोरै भए पनि न्याय पाएका हुन् ।
क्रमशः

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.