भूकम्प प्रभावित क्षेत्रमा मिर्गौला पीडितका दुःख

| 2023 Dec 06 | 10:52 am 361

जाजरकोट,  मङ्सिर २० । तीन वर्ष अघिमात्रै चार लाखभन्दा बढी खर्च गरेर बनाएको घर भूकम्पले चिराचिरा पारेपछि ३१ वर्षीय सन्दिपा पुनलाई राम्रोसँग न निन्द्रा लागेको छ, न ढुक्कले पेटभरि खान सकेकी छन् । नलगाड नगरपालिका–१, कलपटकी सन्दिपाको एउटा मिर्गौला छैन । एकातिर मिर्गौला पीडित, अर्कातिर दुःखका साथ बनाएको घर ध्वस्त भएको चिन्ताले उनी निकै कमजोर महसुस गर्दैछिन् । ‘जिन्दगीभरि यही घरमा बसौँला भनेर घर हाल्यौँ, भूकम्पले चिराचिरा बनाइदियो,’ बनाउँदै गरेको अस्थायी टहराको छेउमै बसेर टोलाइरहेकी उनले भनिन्, ‘श्रीमान् पनि घरमा हुनुहुन्न, हामी दुःखीलाई बाँच्न गाह्रो भयो !’

घरभित्र जान नमिल्ने गरी उनको घर चिराचिरा परेको थियो । अहिले स्वयंसेवकहरुले पन्छाई त्यही घरको काठ प्रयोग गरेर अरुकै गहुँबारीमा टहरा ठड्याइदिएका छन् । नेकपा माओवादी केन्द्र सुर्खेत जिल्लाको टोलीले उनको टहरा ठड्याइदिएको हो तर, जस्तापाता नहुँदा टहरा छानोबिहीन छ । जस्तापाता किन्ने पैसा नहुँदा त्रिपालबाट मुक्ति पाउन सकेकी छैनन् उनले ।

श्रीमान भविलाल रोजागारीका लागि दुबईमा छन् । गत साउनमा मात्रै ऋण गरेर विदेश गएका उनले ऋण नै तिर्न सकिरहेका थिएनन्, त्यसैमा भूकम्पले घरबारविहीन बनाइदियो । सन्दिपाको दुई छोराछोरी छन् । कक्षा ७ मा पढ्ने एक छोरा र ३ कक्षामा पढ्ने छोरी छिन् । श्रीमानले यसअघि पठाएको रकम ऋण तिर्न र घर खर्चमै सकियो । अब आउने बेला भयो । तर, उक्त रकमले भाका अनुसारको ऋण तिर्नमात्र पुग्ने उनको भनाइ छ ।

‘सरकारबाट अनुदान आउने सुनेकी छु, चाँडो आइदिए पनि टिन हालेर बस्न हुन्थ्यो,’ उनी भन्छिन्, ‘त्रिपालको बसाइ निकै कष्टकर भयो ।’ चार वर्ष अघि उनी बिरामी भएपछि श्रीमानले सरसापट गरी उपचार गर्न नेपालगन्ज लगे । तर, मिर्गौला फेल भएको र फाल्नका लागि दुई लाख खर्च लाग्छ भनेपछि उनीहरु त्यत्रो रकम कहाँबाट ल्याउने भन्ने चिन्तामा परे ।

त्यसपछि उनीहरुले काम गर्न भारत जाने र उतै कमाएर उपचार गर्ने निधो गरे । भारतको सिमलामा श्रीमान भविलालले मजदुरी गरे । त्यहीँबाट कमाई भएको ७० हजार भारुले उपचार गरेर फर्किएको उनले बताइन् । त्यसपछि उनीहरुले ऋण गरेर घर बनाए । काठदेखि ढुङ्गासम्म सबै किन्नुपर्ने । सबैगरी चार लाखभन्दा बढी रकम खर्च भयो ।

‘सबै ऋण तिर्न सकिएला कि भनेर ऋण मागेर नै श्रीमान साउन महिनामा विदेश जानु भएको हो,’ सन्दिपा भन्छिन्, ‘तर यही वर्ष यस्तो दुःख आइलाग्यो ।’ अप्रेसनपछि एउगा मिर्गौला गुमाएकी उनले त्यसपछि शारीरिक र मानसिक अवस्था अझै तन्दुरुस्त हुन नसकेको बताइन् । निराश हुँदै उनी भन्छिन्, ‘दिन काटेर खान गाह्रो भयो । भूकम्पले बिचल्ली पारिदियो ।’

कुनै एक संस्थाले उनलाई त्रिपाल दिएको रहेछ । त्यही त्रिपालको ओत लागेर छोराछोरीसँग उनी बस्छिन् । त्रिपालको बसाइ निकै गाह्रो भएको उनको भनाइ छ । ‘बिरामी हुन्छु कि भन्ने चिन्ताले सताइरहन्छ, घाउ दुखिरहन्छ । जब साँझ पर्छ, चिसो भएर अप्रेसन गरेको ठाउँमा निकै दुख्छ,’ उनले भनिन्, ‘केही काम गर्न सकिन्न । दुखेर हिँड्न पनि सकिन्न ।’

श्रीमान भविलालले फोन गरेर बेला बेला उनलाई सम्झाइरहन्छन् । सरकारले अस्थायी आवासका लागि ५० हजार रकम अनुदान दिने भनेपछि अहिलेसम्म सन्दिपाले पहिलो किस्ता पनि पाउन सकिरहेको छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.