भुटानका अन्तरिम सरकार प्रमुख वाङचुक काठमाडौंमा, म्यानमारका राष्ट्रपति लुम्बिनी

| 2018 Aug 29 | 08:54 am 1928

काठमाडौं, भदौ १३: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्र भुटानका अन्तरिम सरकार प्रमुख छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्।

उनलार्इ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्। विशिष्ट पाहुना वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । उहाँलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि स्वागत गरेको थियो।

नेपाल भित्रिने पहिलो पाहुनाका रूपमा म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार बेलुका नै काठमाडौं पुगेका थिए। मिन्टसहितको टोली आज बिहान लुम्बिनी जाने भएको छ।

राष्ट्रपति मिन्ट चार्टर विमान मार्फत अहिले केहीबेरमा लुम्बिनी पुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। गौतम बुद्ध विमानस्थलबाट समेत उनलाई हेलिकप्टरमार्फत लुम्बिनी क्षेत्र सम्म लगिनेछ।

झण्डै साढे ६ घण्टाको लुम्बिनी बसाईका क्रममा राष्ट्रपति मिन्टले मायादेवी मन्दिर तथा म्यानमारले आफैं निर्माण गरेको विहारमा पूजा तथा ध्यान गर्ने कार्यक्रम तय भएको छ। लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, राष्ट्रपति मिन्टलाई स्वागत गर्न भैरहवा पुगेका छन्।

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले समेत भोली लुम्बिनी भ्रमण गर्ने तालिका छ। म्यानमार र श्रीलंकाका राष्ट्रपतिको लुम्बिनी भ्रमणका कारण रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ। लुम्बिनी भ्रमण पछि काठमाडौं फर्किएर राष्ट्रपति मिन्टले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.