विराटनगर, फागुन १२ : भाषाशास्त्री तथा साहित्यकार बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा निधन भएकाे छ । केही समयदेखि ‘ब्रेन स्ट्राक’ भई बिरामी रहेका पाेखरेललाई आइतबार बिहान उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएकाे थियाे ।
मदन पुरस्कार लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भएका पोखरेललाई यस वर्षको गणतन्त्र दिवसमा सरकारले उज्ज्वल कीर्तिमय राष्ट्रदीप मानपदवीले सम्मानित गरेको थियो ।
उनका महाकाव्य, खण्ड काव्य, उपन्यास र समालोचना आदि गरी एक सय भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन् । पोखरेलको जन्म वि.सं. १९९० भाद्र कृष्णाष्टमीमा भएको थियाे ।
मकवानपुरकाे चिसापानीगढीमा बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा जन्मनुभएका उहाँका ‘रूपावासी’, ‘वसन्त’, ‘बत्सल’, ‘बालकृष्ण रुपाखेती’, ‘केके मनुच्यो पोखरेल’, ‘गड्तिरे साइँला’ लगायत विभिन्न छद्मनामबाट समेत थुप्रै कृति प्रकाशित छन् ।
उनले विभिन्न उपनामहरूबाट ७० बढी उपन्यास लेखेकाे बताइन्छ । यसका साथै कथा, कविता, नाटक, निवन्धलगायतका विधामा पनि उहाँका अनेक कृति प्रकाशित छन् । उनी ठेट नेपाली भाषाको प्रयोग हुनुपर्ने पक्षधर तथा झर्रोवादी आन्दोलनका एक अभियन्ता समेत हुन् ।