काठमाडाैं, असार १९ः भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा र्घाखाँची पाणिनी गाँउपालिका वडा नं. २ बस्ने बर्ष ५३ का हरिओम रसाइली र रुपन्देही वुटवल उप महानगरपालिका वडा नं. ३ बस्ने बर्ष ३२ का भजिन्द्र दर्जी रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि खटि गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी, नयाँबस्तीबाट संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु (आखेटोपहार) थान-२ अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडाैं पठाइएकाे बताइएकाे छ ।