काठमाडौँ साउन २१ : हिजो रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो ६ घण्टादेखि भारी वर्षा मापन भइरहेको जल तथा मौसम विभागले जानकारी दिएको छ ।
भारी वर्षाका कारण मेलम्ची नदीको जलसतह बढ्दो रहेको विभागले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
हेलम्बु र मेलम्चीका ग्रामीण भेगका सडकहरु अवरुद्ध भएका छन् । वर्षाले मेलम्ची नगरपालिका–२ निबु गाउँमा पहिरोले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । निबुका २० घर उच्च जोखिममा परेका छन् ।
हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न वडाहरूमा बाढी बढेपछि सुरक्षा सतर्कता अपनाइएको छ ।