भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

रिपोर्ट नेपाल | 2020 Nov 02 | 09:28 am 1782

काठमाडाैं, कात्तिक १७ः मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गरिरहेको छ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासँग जोडिएर आएको प्रश्नसँगै नेपाल र भारतबीच देखिएको संवादहीनताकै अवस्थामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको बुधबारदेखि हुने भ्रमणले सम्बन्धलाई सुमधुर तुल्याउन र अलमलजस्तो अवस्थामा रहेको विवादलाई मत्थर गर्न योगदान पुग्ने विश्वास गरिएको छ।

तीन दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनले भेटवार्ता गर्नेछन्।

यसअघि पनि भारतले अघोषित नाकाबन्दी लगाएपछि नेपाल–भारतबीच उत्पन्न परिस्थितिको समाधानका लागि प्रयोग गरिएको सैनिक कूटनीतिले गौरव गर्न लायक इतिहास निर्माण गरेको थियो।

संविधानसभाबाट जारी भएको नेपालको संविधानका केही प्रावधानप्रति विरोध जनाएर तत्कालीन मधेसवादी दलले उठाएका मुद्दा र गरेको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी गरेपछि उत्पन्न विषम परिस्थितिलाई सकारात्मक अवतरण गराउन सरकारले सैनिक कूटनीति अवलम्बन गरेको थियो।

यद्यपि नेपाल र भारतबीच सदिऔँदेखि धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचारको गहिरो सम्बन्ध रहिआएको छ। संसारमै बिरलै हुने खुला सिमाना तथा राहदानी र प्रवेशाज्ञाबिना एक देशबाट अर्को देशमा सहजै आवतजावत गर्न पाउने व्यवस्था छ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा रहेको तत्कालीन सरकारले दुई देशबीचको सदिऔँदेखिको मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्दै परिस्थितिको सहजीकरण गर्ने उपाय खोज्न त्यतिबेलाका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई निर्देशन दिएको थियो ।

सरकारको निर्देशनानुसार सेनाप्रमुखले सङ्गठनका कुशल व्यवस्थापक र आफना विश्वासपात्र युद्धकार्य महानिर्देशक हिमालय थापालाई उक्त जिम्मेवारी दिएर आफना भारतीय समकक्षी दलवीर सिंहमार्फत अघि बढाइएको सैनिक कूटनीतिका माध्यमबाट नाकाबन्दी हटाउन सफलता मिलेको थियो। सफल सैनिक कूटनीतिको श्रेयका रूपमा त्यसबखत प्रधानसेनापति क्षत्रीको भारत भ्रमणका बेला वीरगञ्ज नाकामा लगाइएको अघोषित बन्दी भारतले हटाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.