काठमाडौं, भदौ २५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जनयुद्धको मर्मलाई नछोडेको बताएका छन्। भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमसँगको अन्तवार्तामा माओवादीले सबै छोडेको र एमालेले केही नछोडेको भन्ने कुरा गलत भएको भन्दै प्रचण्डले यस्तो बताएका हुन्।
सोमबार ‘हिन्दुस्तान टाइम्स’मा प्रकाशित प्रशान्त झाले लिएको अन्तवार्तामा एक प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
‘मैले जनयुद्धको मर्मलाई छोडेको छैन । यसको महत्वलाई पनि घटाएको छैन । संविधान र पार्टीका दस्तावेजमा यी कुरा तपाईंले देख्न सक्नुहुन्छ । संघीय गणतान्त्रिक नेपाल निर्माण गर्नका लागि जनयुद्धले खेलेको भूमिका र योगदानलाई यी दस्तावेजमा समेटिएको छ’, प्रचण्डले भनेका छन्, ‘केपी शर्मा ओली र म दुवै अध्यक्षले यी दस्तावेजमा हस्ताक्षर गरेका छौँ । हामीले सबै कुरा छोड्यौँ र एमालेले केही पनि छोडेन भन्ने होइन । दुवै विचारलाई नयाँ पार्टी निर्माणमा समेटिएको छ ।’
पार्टी एकतामा दुई वर्षभित्र महाधिवेशन गर्ने गरी निश्चित मार्गचित्र तयार भएको खुलासासमेत प्रचण्डले गरेका छन्। महाधिवेशनसमेत सहमति र समझदारीको हिसाबमै हुने उनको भनाइ छ ।