रुकुम, भदौ १६ : भारतीय विपक्षी दलका नेता तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी शनिबार बिहानै पशुपति दर्शन गर्न पुगेका छन्।
शुक्रबारमात्रै काठमाडौं ओर्लिएका राहुल शनिबार बिहान ८:३० बजे पशुपति पुगेको श्रोतले जनाएको छ। त्यसपछि शनिबार नै राहुल कैलाश मानसरोवरको दर्शन गर्न तिब्बततर्फ लाग्नेछन्।
नेपाली सुरक्षा निकायहरूले शनिबार बिहानसम्म राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज हुँदै मानसरोवर जाने जाने सूचना पाएका थिए। किनभने, त्यही एयरलाइन्सको टिकट सूचीमा उनको नाम थियो। त्यसै अनुसार नेपालगञ्जमका पनि उनको सुरक्षा प्रबन्ध मिलाइएको थियो।
तर, शनिबार बिहान अकस्मात उनले आफ्नो योजना परिवर्तन गरे। र, ल्हासा हुँदै मानसरोवर जाने योजना बनाए। ‘सुरुमा राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज जाने भनिएको थियो’ विमानस्थल सुरक्षा स्रोतले भन्यो, ‘तर पछि क्यान्सिल गरेछन्।’
भारतका प्रधानमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदी बिमस्टेक सम्मेलन सकेर नेपाल भारत मैत्री पशुपति धर्मशालाको उद्घाटन र पशुपतिनाथको दर्शन गरी शुक्रबार साँझ दिल्ली फर्किए। मोदी भारतीय वायु सेनाको विशेष विमानमा दिल्ली उड्नुभन्दा केही घण्टाअघि नै राहुल गान्धी काठमाडौं ओर्लिएका थिए। कांग्रेसको अध्यक्ष भएपछि पशुपतिमा सम्भवतः उनको यो नै पहिलो पूजा भएको जनाइएको छ।
प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता मोदीकै शैलीमा विपक्षी नेता गान्धी किन यसरी धार्मिक यात्रामा निस्केर अझ उनी पशुपतिनाथको दर्शन गर्ने गरी किन नेपाल आए ? मोदी र गान्धीको पछिल्लो धार्मिक यात्रा खास गरी भारतीय लोकसभाको आसन्न निर्वाचनसँग जोडिएको छ। भारतको बहुसङ्ख्यक हिन्दु जनमत आफूतिर आकर्षित गर्न मोदी र गान्धी दुवै हिन्दु धार्मिक स्थल धाउन थालेको टिप्पणी हुन थालेको छ।