काठमाडौँ २७ साउन / भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपालमा । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।उनलाई आइतवार बिहान काठमाडौंको त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललगायतले स्वागत गरेका थिए ।
नेपाल र भारतबीचको दीर्घकालीन मित्रता, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक निकटतालाई झल्काउने यस प्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा दुबै देशका विदेश सचिवहरूले आपसी चासोका विषयमा छलफल गर्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा द्विपक्षीय सहकार्यलाई अझ सशक्त बनाउने विषयमा विचार विमर्श गर्ने अपेक्षा गरिएको छ ।
साथै भारतले हालै अघि सारेका विकास योजनाहरूमा नेपालको सहभागितालाई प्रोत्साहित गर्न विभिन्न योजनामा सहकार्य गर्ने विषयमा पनि छलफल हुने सम्भावना रहेको परराष्ट्र स्रोतले बताएको छ । विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किनेछन् ।