काठमाडौ २१ जेठ : भारतीय प्रहरी र स्थानीयहरुद्वारा इन्धन भर्न गएका नेपाली चालक र सहचालकहरु ४ दिनसम्म लगातार कुटिएका छन् । जेठ १६ देखि १९ गतेसम्म लगातार नेपाली चालक र सहचालकलाई कुटपिट गरेका जानकारी गराइएको छ ।
पेट्रोलियम पदार्थ लिनका लागि रक्सौल हुँदै भारतको आईसीपी कस्टम पुगेका ट्यांकर चालक र सह–चालकहरुमध्ये करिब २४ जनालाई एसएसबीका जवानहरुले आक्रमण गरेका थिए । मजदुरहरुका अनुसार भारतीय प्रहरीको सवारीलाई ओभरटेक गरेको, र चन्दा नदिएको भन्दै लामो समयदेखि निरन्तर मजदुरहरुमाथि निरन्तर कुटपिट भइरहेको छ ।
भारतीय प्रहरीको आक्रमणबाट चालक देव थापा, पशुपति मैनाली, टेकलाल गोले, देव लामा, बिकेस लामा, कान्छा तामा र सहचालक राजेश विक, गोरे लामा, चालक सुशन बमजनलगायत घाइते भएका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले श्रमिकहरुको सुरक्षाका लागि सरकारसँग जोडदार माग गरेका छन् ।