दार्चुल,जेठ २४: नेपाल भारत जोड्ने दार्चुला र धारचुलाको सीमा पुलमा भारतीय एसएसबीबाट एक नेपाली कुटिएका छन् । बुधबार बेलुकी भारतमा मजदुरी गरेर नेपाल फर्कने क्रममा महाकाली नगरपालिका १ छापरी मलेराका ५२ वर्षीय नन्दराम लोहार भारतीय एसएसबीका हवल्दार इन्द्रसिंहबाट निर्घात कुटिएका हुन्।
नेपाल भारत जोड्ने पुल बेलुकी ७:१५ बजे बन्द हुने गर्छ। पुल बन्द भइसकेपछि धारचुलाबाट नेपाल आउने झण्डै ५० बढी स्थानीय धारचुलामा रोकिएका थिए। दुहु गाउँपालिका २ का स्थानीय जमनसिह बडालका अनुसार उनीहरूले पुल खोल्न माग गरेका थिए। ‘हामी कोही लेकतिरबाट र कोही धारचुला बजारबाट साग सब्जी लिएर फर्किने बेला पुल बन्द भयो, पुल खोल्न माग गर्ने लोहारमाथि एकाएक एसएसबीका हवल्दार सिंहले निर्घात कुटे।’ उनले भने।’ ती बुढाको केही दोष छैन, अर्का स्थानीय नारा धामीले भनिन्, हामी सबैको सामु कुटपिट गरेका हुन्। झन् बुढा मान्छे सडकमै पल्टीएर सुतेका थिए।
आफूले केही नबोले पनि एसएसबीले कुटपिट गरेको लोहारले बताए। कुटपिटको बारेमा नेपाल प्रहरीका डिएसपी नवराज अधिकारी र सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका डिएसपी अम्बिका प्रसाद जोशीले भारतीय एसएसबीका कमान्डर जोदसिहलाई राती नै जिल्ला प्रहरी कार्यालयमा बोलाएर घटनाको कारणबारे सोधपुछ गरेका छन्।