भारतमा उच्च गर्मी, राजस्थानकाे तापक्रम ५० डिग्री सेल्सीयसभन्दा माथि

रिपोर्ट नेपाल | 2019 Jun 04 | 06:29 am 2874

काठमाडाैंः (एजेन्सी) भारतमा गर्मी उच्च हुँदै गएकाे छ । राजस्थानका मरुभूमिमय शहरी क्षेत्रकाे तापक्रम ५० डिग्री सेल्सीयसभन्दा माथि पुगेकाे छ त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

राजस्थान प्रदेशमा पर्ने चुरु क्षेत्रको तापक्रम ५०.३ डिग्री सेल्सियस मापन गरिएकाे छ भने यसअघि गत शनिबार साे क्षेत्रकाे तापक्रम ५०.६ डिग्री सेल्सियस पुगेको थियो । यो तापक्रम भारतभरिकै सबैभन्दा उच्च तापक्रम हाे । पछिल्लो तीन दिनमा मात्रै तापक्रम दोस्रो पटक यति धेरै बढेको अधिकारीहरुकाे दाबी छ ।

हुन त यसअघि सन् २०१६ को मे महिनामा भारतमा सर्वाधिक तापक्रम ५१ डिग्री सेल्सीयस मापन गरिएको थियाे । त्यतिबेला सर्वाधिक तापक्रम राजस्थानको फलोडी सहरमा मापन गरिएको हो ।

अत्यधिक तापक्रमका कारण केही नागरिकले ज्यान गुमाइसकेकाे बताइए पनि यकिन तथ्यांक सार्वजनिक गरिएकाे छैन । गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको आधिकारिक तथ्याङ्क भने मिडियामा आएकाे छ ।

भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ । नजिकैका प्रदेशहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको छ ।नयाँ दिल्लीकाे सामान्य तापक्रम सोमबार झण्डै ४० डिग्री मापन गरिएकाे छ । यद्यपि दिल्लीकै केही इलाकामा भने ४६ डिग्रीसम्म पुगेकाे हिन्दूस्तान टाइम्सले लेखेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.