– रबिन्द्र यादव
पश्चिम नवलपरासी, असार २५ । भारतबाट अवैध रुपमा ल्याइएका कुखुरालाई सशस्त्र प्रहरीले बरामत गरी नष्ट गरेको छ ।
प्रतापपुर गाउँपालिका वडा नंं ६ कठहवामा मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब निरीक्षक दिल बहादुर पौडेलको नेतृत्वमा गएको मोबाइल गस्तीले उक्त कुखुरा बरामद गरेको हो ।
वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ । यद्यपी खुल्ला सीमानाको फाइदा उठाउदै तस्करहरुले भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने गरेका छन । यसलाई नियन्त्रण तथा रोकथाम गर्न पश्चिम नवलपरासी सशस्त्र प्रहरी लागिपरेको छ ।
भारतबाट अबैध रुपमा तस्करी नियन्त्रण र रोकथाम गर्न सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर २६ नं गण बेलाशपुरका गणपति धिरेन्द्रराज न्यौपानेले आफ्ना मातहतका सबै वि.ओ.पी र सुरक्षा कमान्ड पोष्टलाई कडा निर्देशन दिएको कुरा एक सशस्त्र प्रहरीका अधिकारीले बताए ।
सशस्त्र प्रहरीले कुखुरालाई बरामद गरे पनि कुखुरा ल्याउने व्यक्तिलाई भने नियन्त्रणमा लिन सकेको छैन । सशस्त्र प्रहरी २६ नं गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले कुखुरा तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा कुखुरा छाडेर भागेकाले पक्राउ गर्न नसकिएको बताए ।
बरामद गरिएका कुखुरालाई नवनिर्वित भवनको बि.ओ.पी. हाता भित्र रहेको फिल्डमा खाडल खनेर नष्ट गरिएको उनले बताए ।
