काठमाडौं, साउन १७: भारतबाट आयुर्वेद औषधी ल्याउन रोक लगाएको भन्दै आयुर्वेद औषधी ल्याउन रोक लगाउने गरी कार्यविधि ल्याइएपछि आयुर्वेद व्यवसायीहरु आन्दोलित भएका छन्।
आयूर्वेद औषधि भारतबाट आयातमा रोक लगाउने व्यवस्थासहितको कार्यविधि विभागले तय गरेपछि तत्काल खारेज गर्न माग गर्दै बुधबारदेखि आयूर्वेद व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन।
बुधबार बबरमहलस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेका उनीहरुले कार्यविधि तत्काल खारेज नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि विभागका पदाधिकारीहरुलाई दिएका छन। भारतबाट आयुर्वेद औंषधि नल्याए आफूहरुको व्यवसाय चौपट्ट हुने अवस्था भएपछि सो कार्यविधि खारेज गर्न माग गर्दै आन्दोलनमा जान बाध्य हुनु परेको संघका अध्यक्ष लोकेन्द्र चापागाईँले जानकारी दिए।
नेपाली बजारमा भारतीय कम्पनीबाट आयातित आयुर्वेद औषधिले ९० प्रतिशत हिस्सा ओगटेको छ । यस्तो अवस्थामा सरकारले आफूहरुको व्यवसाय नै समाप्त हुनेगरी बनाइएको कार्यविधि तत्काल खारेज गर्न माग गरिएको पनि संघको भनाई छ। संघले आयुर्वेद व्यवसायलाई नै समाप्त पार्ने काम सरकारबाटै हुन लागेकोमा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन ।
संघले सरकारले कार्यविधि बनाउँदा आफूहरुलाई बेवास्ता गरेको भन्दै आक्रोश पनि व्यक्त गरेको छ । नेपालमा हाल २६ वटा आयुर्वेद औषधि कम्पनी छ । ती कम्पनीहरुले नेपालको माग धान्न सक्ने गरी औषधि उत्पादन गर्न सक्ने भएपछि मात्रै भारतीय कम्पनीका औषधि आयात गर्न रोक लगाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।