सुनसरी, असोज ४ : नेकपा सुनसरीका सल्लाहकार मौलाना खुर्सिद अन्सारीको हत्या र प्रहरी जवान शिवलाल पौडेलमाथि गोली प्रहार गर्ने भारतीय हत्यारा खोजीका लागि सुनसरी प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका हत्याराहरु सीमापार गरी भारततर्फ भागेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी उपरिक्षक (एसपी) को कमाण्डमा ५० जना दंगा प्रहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जना, दंगा नियन्त्रण प्रहरी गणबाट पनि प्रहरी निरीक्षकको कमाण्डमा २५ जना गरी सय जना प्रहरीलाई खटाएको हो।
घटनामा भारतीयको संलग्नताको आशंका गरिएपनि यकिन भने हुन नसकेको सुनसरी प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार समूहले गोली प्रहार गरेको बताइएपनि स्थानीयका अनुसार नम्बर बिनाको अपाचे मोटरसाइकलमा सवार व्यक्तिले मौलाना खुर्शिद अन्सारीमाथि गोली प्रहार गरेका थिए ।
टाउको र छातीमा गरी तीन गोली लागेका खुर्शिदको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि भागेको समूहलाई स्थानीयले छेक्ने प्रयास गरेपनि हत्यारा समूह उम्कन सफल भएको बताइएको छ । भाग्ने क्रममा सोही समूहले घुस्कीमा प्रहरीमाथि समेत गोली प्रहार गरेको छ । मोटरसाइकल रोक्न पुगेका प्रहरी टोलीमाथि गोली प्रहार भएको छ । गोलीलागि प्रहरी जवान शिवलाल पौडेल घाइते भएका छन् ।
घुँडा र कम्मरमुनि गोली लागेको पौडेललाई उपचारकालागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको सुनसरी प्रहरीले जनाएको छ । यता मृतकका आफन्तसहित भुटाहावासीले टायर बालेर प्रर्दशन चर्काएका छन् ।
शव सडक किनारमा राखेर स्थानीयले हत्यारा पक्राउ गरी कार्वाहीको माग गरेका छन् । स्थानीय बजार तथा पसल बन्द गरी प्रर्दशनमा उत्रिएका छन् । सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।