काठमाडौं, चैत १२ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रोपटक विश्वासको मत लिएको एक साता हुन लाग्दासमेत मन्त्रालय बाँडफाँडको किचलो कायमै रहेको छ । विश्वासको मत लिएलगतै चार दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डाको किचलो टुंग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
सत्तारूढमध्येका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरू र प्रधानमन्त्री दाहालबीच एक्लाएक्लै र सामूहिक छलफल भए पनि अन्य चार दललाई ठूला दलहरूले खासै चासो दिएको पाइएको छैन । जनता समाजवादीका नेता मनिस सुमनले अहिले प्रधानमन्त्रीले दलका शीर्ष नेताहरूसँग छलफल गरिरहे पनि सबै दलहरू एक ठाउँ बसेर छलफल नभएको बताए । उनले नेपाल समाचारपत्रसँग भने– ‘गठबन्धनलाई बलियो बनाएर सबै दलहरूलाई सरकारमा अटाउने कुरा चुनौतीपूर्ण नै छ । त्यसले पनि प्रधानमन्त्रीज्यूलाई सरकार गठनमा केही ढिला भएको होला । जनता समाजवादी पार्टी गठबन्धन दलहरूको सहमति विपरित निर्णय गर्दैन ।’
गत पुस १० मा एमालेसहित सातदलीय गठबन्धन गरेर सरकारको नेतृत्व गरेका दाहालले राष्ट्रपतिको निर्वाचन अगावै गठबन्धन तोडेर फागुन १० मा नयाँ समीकरण बनाएको थियो । नयाँ समीकरण बनेको पनि एक महिना वितिसक्दा समेत सत्ता सहयात्री दलहरूलाई सरकारमा सामेल गराउन प्रचण्डलाई सकस देखिएको छ ।
१० दललाई मिलाउन प्रधानमन्त्रीलाई गाह्रो परिरहेको टिप्पणी गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने– ‘प्रधानमन्त्रीजीलाई दशतिर फर्केका मुखहरू मिलाउनै समस्या देखेको छु । उनले १६ वटा मन्त्रालयको जिम्मेवारी लिएको एक महिना हुन लाग्यो । तर पनि मन्त्री परिषद् विस्तारको काम गर्न सकेका छैनन् । उनलाई गाह्रो छ ।’ राजमोले सरकारलाई समर्थन दिए पनि सरकारमा नजाने जानकारी दिँदै केसीले भने– ‘हामी सरकारमा जाँदैनौं । सरकारका काम कारबाहीलाई गुण र दोषका आधारमा संसदबाट समर्थन र विरोध गर्छाैं ।’
संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रचण्ड सरकारको आयु वैशाखसम्म मात्रै रहेको दाबी गरेको छ । अहिलेको अवस्थामा सरकारमा जति दल भए पनि प्रचण्डको मात्रै सरकार रहेको टिप्पणी गर्दै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने– ‘लामो समय यो गठबन्धन टिक्ने सम्भावना कमै छ । प्रचण्डले पटकपटक बेइमानीपूर्ण र अस्थिर राजनीतिक खेल खेलिरहनुभएको छ ।’
प्रधानमन्त्री दाहालले विश्वासको मत लिएकै दिन चैत्र ६ गते एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले तेस्रो पटक विश्वासको मत लिने कार्यसूची कहिलेलाई राखेका छन् प्रधानमन्त्री ज्यू ? भनेर संसदमै प्रश्न गरेका थिए ।
समयमै सरकारलाई पूर्णता दिएर देश र जनहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका दाहाललाई सत्ता सहयात्री दलहरू व्यवस्थापनले ओझेलमा पारेको नेताहरूले बताउने गरेका छन् । यसैबीच उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरे । गठबन्धनमा भागबण्डाको कुरा धेरै पेचिलो नभएको भन्दै उनले भने– ‘एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि मुलुको आर्थिक सामाजिक रुपान्तर र जनजीविकाका सवालमा सरकारले देखिने गरी काम गर्न थाल्नेछ । सरकार विस्तारको कुरालाई लिएर जसरी बाहिर हल्ला चलाइएको छ, गठबन्धनमा त्यस्तो समस्या छैन । धेरै दलहरू सम्मिलित सरकार हुने भएपछि छलफल पनि धेरै हुनु स्वाभाविक हो ।’
सरकार विस्तारकै विषयमा धेरै अत्तालिनुनपर्ने दाबी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले भने– ‘हामीले सरकार बनाउन हतारिएर गठबन्धन दलहरूलाई व्यवस्थापन गर्न सकेनाैं भने फेरि अस्थिरता निम्तन सक्छ । त्यसैले एक/दुई दिन ढिलै भए पनि गठबन्धनका सबै दलहरूबीच व्यापक छलफल गरेर सबैको सहमतिमा संघ र प्रदेश दुवै तहको सरकारमा प्याकेजमै सहमति गरेर जाने चरणमा छौं ।’ सरकारमा जाने विषयमा पार्टीको आन्तरिक छलफलसमेत चलिरहेको उनले बताए । नेपाल समाचारपत्रबाट