झापा, माघ २३ः जिल्लाको मेचीनगर नगरपालिका २ स्थित भृकुटी ईलाकाबाट सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाईपसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षीय तेजमान लिम्बु र झापा जिल्लाको मेचीनगर नगरपालिका ४ बस्ने प्रविण भारती रहेका छन् ।
मे १ ह ६०५६ नम्बरको अटोमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भरुवा बन्दुक बनाउने उक्त पाईपसहित बारुद बनाउन प्रयोग हुने करीव ५८ के.जी. सोडा र ३ के.जी. ५ सय ग्राम गन्धक फेला पारेको हो।
पक्राउ परेका दुवै जनालाई बरामद सामान र उक्त अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
खैरो हिरोईनसहित दुई जना पक्राउ
झापा जिल्लाको मेचीनगर नगरपालिका १५ कालिकास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १७ ग्राम खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ्ग बतासे ग्राम पञ्चायत घर बताउने २७ वर्षीय मोहमद सुल्तान र २७ वर्षीय रन्जित गणेश रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यामिरेबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हिरोईन फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हिरोईनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीनिकासीको सुपारी बरामद
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाडास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सुपारी बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त सुपारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सुपारी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।