भरुवा बन्दुक तथा अवैध लागूऔषधसहित चार जना पक्राउ

| 2020 Jul 13 | 02:46 pm 2376

रामेछाप, असार २९ः अवैध भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका ६ डाङसिंटारका ४० वर्षीय ईन्द्र बहादुर थापा मगर रहेका छन् ।

उनलाई भरुवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो । थापाले मकै बारीमा बाँदर धपाउनको लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने १९ वर्षीय आकाश आले मगर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वर मन्दिर अगाडि पुलचोक जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट १ सय ५५ पिस सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका ५ का २६ वर्षीय सोगिन्द्र महतो र आषिष मंडल रहेका छन् । प्रहरी चौकी कपिलेश्वरबाट कटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सिरहाको लाहान नगरपालिका १ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल र नोर्फिन ४६ एम्पुल सहित नवराजपुर गाउँपालिका४ बस्ने २० वर्षीय रामपुकार शर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.