भरुवा बन्दुक तथा अवैध लागूऔषधसहित व्यक्तिहरु पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 30 | 03:23 pm 2061

बाँके, साउन १५ः नेपालगंज उपमहानगरपालिका १ वाटरपार्क बस्ने ४९ वर्षीय प्रदिप डिसीलाई १ नाल भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डिसीले आफ्नो घरको ढोका बन्द गरी लत्ताकपडामा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएर जाँच गर्दा उक्त बन्दुक फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

धनुषाको हंसपुर नगरपालिका ३ कठपुल्लाबाट १ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँका ६८ वर्षीय बौवालाल मण्डल र सिरहा कर्जनाहा नगरपालिका ८ का २८ वर्षीय मिथुन नायक रहेका छन् ।

बौवालाल मण्डलको घरमा गाँजा किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बेल्हिबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसैगरी बिर्तामोड नगरपालिका ४ घर भई अर्जुनधारा नगरपालिका ६ समाबेसी टोल डेरा गरी बस्ने २० वर्षीय निकेश राईलाई १ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने बस्तु सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी कन्काई नगरपालिका ४ ईलुबारीबाट १२ ग्राम ८० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँका २८ वर्षीय संजय पोखरेल समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्ताबाट १ ग्राम ६ सय ६५ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय आशिष कुमार थारु र २१ वर्षीय राहुल गुप्ता रहेका छन् ।

उनीहरूले लागूऔषध किन बेच गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय वनकटुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसैगरी सर्लाहीको लालबन्दी नगरपालिका १ बागबनीबाट १ सय ९६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित काठमाडौं जोरपाटी बस्ने झापा टोखा घर भएका १९ वर्षीय सुनिल सन्थाली (धिमाल) लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा शंका लागि पैदलयात्री सुनिललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.