भन्सारको काजगपत्र नभएको ३ सय ४० बोरा चिनी बरामद

| 2022 Nov 05 | 02:24 pm 1877

सुर्खेत, कात्तिक १९ः भेरीगंगा नगरपालिका –५ स्थित अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतले चेकजाँचका क्रममा राजश्व छली गरेर ल्याउँदै गर्दा ठूलो मात्रामा चिनी बरामद गरेको छ। कैलालीबाट सुर्खेत तर्फ आउँदै गरेको भे१ख ३०४१ नम्बरको ट्रकबाट ठूलो मात्रामा चिनी बरामद भएको हो।

भारतबाट भन्सार छली गरेर ल्याईएको चिनी प्रहरीले आशंका गरेर चेकजाँच गर्दा फेला परेको हो। चेकजाँच गर्दा भ्याटविल, अनलाईन विल भएको, भन्सारको काजगपत्र नभएको ३ सय ४० बोरा (१७ टन) चिनीसहित ट्रक र ट्रक चालक लम्किचुहा नगरपालिका –२ कैलाली बस्ने ४३ वर्षिय नेत्र बहादुर शाहीलाई नियन्त्रणमा प्रहरीले लिएको छ। प्रतिबोरा चिनी ५० किलोग्रास रहेको थियो। बरामद चिनी भन्सार कार्यालय नेपालगंजलाई बुझाईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतमा राजश्व छलीको अवैध चिनीको ठूलो गोदामहरु राखेर कर्णालीका पहाडी जिल्लाहरुमा सप्लाई गर्ने गरेको पाईएको छ। प्रहरीको सक्रिय नहुँदा सुर्खेतबाट अवैध सामाग्रीहरु पहाडी जिल्लाहरुमा पुग्ने गरेको छ। सूर्तीजन्य वस्तु, खाद्यान्न, लगायतका सामाग्रीहरु खुलेआम बिक्री भइरहेका छन्।

भारतीय चिनी बरामद गरि १७ लाख बराबर मूल्य राखेर राजश्व कार्यालय नेपालगंज पठाईएको ईलाका प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक रमेश राईले बताए। ‘राजश्व कार्यालयले अनुसन्धान भइराखेको जानकारी दिएको छ।’ प्रहरी निरिक्षक राईले भने, केही दिनमै राजश्व कार्यालयले कार्वाही गर्नेछ।’ यसअघिका वर्षहरुमा सुर्खेतमा प्रहरीले कर छली गरेर ल्याईएका सूर्तीजन्य वस्तुहरु बरामद गर्ने गरेको थियो। खुसी टेड्रर्स (मोतीपुर) लम्की कैलाली नामको ठेगानाबाट सुर्खेतको शुवर्ण टेड्रर्स वीरेन्द्रनगर सुर्खेतको नाममा चिनी पठाईएको सुर्खेत प्रहरीले जनाएको छ। भ्याट विलसहित नेपाली चिनी ल्याउने गरेपनि फेरि बीचबीमा भारतीय चिनी ल्याएर बिक्री गर्ने गरेको पाईएको सुर्खेत प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.